नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सक्दो समय आफ्नो निर्वाचन क्षेत्रमै बस्ने बताएका छन् । सर्लाही पुगेका थापाले मतदातासँग कुरा गर्दै अरू नेताहरूजस्तो हतार–हतारमा आएर फोटो खिच्ने र हात हल्लाएर फर्किने शैली आफूले नअपनाउने स्पष्ट पारे ।
उनले भने, ‘म यहाँबाट होइन, अरू निर्वाचन क्षेत्रहरू जान्छु, पार्टीको जिम्मेवारीमा छु । त्यसपछि फेरि आउँछु, सम्भव भएसम्म बढीभन्दा बढी दिन यहाँ बस्छु । जति सक्छु त्यति ठाउँमा पुग्छु, गाउँमा पुग्छु । तर, म के चाहिँ गर्दिनँ यतिखेर भने, चुनावको बेलामा अहिले आएर हतार–हतार गरेर सबै कुरा ढाकछोप गर्ने, फोटो खिच्ने, हात हल्लाउने, अनि गएर छुमन्तर भएर जाने होइन ।’
थापाले पार्टीका केही नेताहरूले आफूलाई “दुई लाइन भए पनि यहाँको भाषामा बोल्न सिक्नुस्” भने पनि आफूले त्यो सुझाव नमानेको बताए ।
उनले भने, ‘म दुई लाइन यहाँको भाषामा बोल्ने सिकेर आएर, एकछिन आएर रातभरि घोकेर आएर यहाँ आएर गर्दिनँ । म यहाँको भइसकेपछि ६ महिनामा, ८ महिनामा यहाँको प्रत्येक व्यक्तिलाई नामले चिन्न चाहन्छु । ५ महिना, ६ महिना, ८ महिना, ९ महिना लाग्ला, १० महिना लाग्ला, १ वर्ष लाग्ला ।’
उनले आफू ९–१० महिनापछि एक लाइन होइन, माइक समातेर यहाँकै भाषामा भाषण गर्न सक्ने अवस्थामा पुग्ने दाबी गरे ।
थापाले थपे, ‘सबै कुरा मैले गर्दै जाने हो । त्यसैले म नौटङ्की गर्दिनँ । चटकेजस्तो कुरा पनि गर्दिनँ । जिम्मेवार भएर तपाईँहरूको साथी, भाइ, छोराको जिम्मेवारी निर्वाह गर्न चाहन्छु ।’
उनका अनुसार अब फागुन २१ गतेसम्म वडागत रूपमा छलफल गरिनेछ ।
‘अब यो–त्यो नभनीकन हामी वडागत रूपमा छलफल गर्छौँ । छलफल गरेर केही कार्ययोजना बनाउँछौँ, त्यो कार्ययोजनाअनुसार तपाईँहरू सबैजना लाग्नुहुन्छ, मेहनत गर्नुहुन्छ,’ उनले भने ।















प्रतिकृया