नयाँ व्यवसाय ल्याउन कति सफल भए जीवन बीमा कम्पनीहरु ?
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ नयाँ व्यवसाय विस्तार गर्न सफल भएका छन्। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४.६५ प्रतिशतले बढी हो। गत वर्ष जीवन बीमा कम्पनीहरुले १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ पहिलो बीमाशुल्क संकलन गरेका थिए।
यस अवधिमा सबैभन्दा बढी नयाँ व्यवसाय ल्याउन नेपाल लाइफ सफल देखिएको छ जसले ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ पहिलो बीमाशुल्क संकलन गरेको छ। दोश्रोमा नेशनल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ संकलन गरेको छ। यस्तै एलआईसी नेपालले १ अर्ब ३३ करोड १ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब १९ करोड ६२ लाख रुपैयाँ र सूर्यज्योति लाइफले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
साथै, सिटिजन लाइफले ९० करोड १६ लाख, एशियन लाइफले ८२ करोड २६ लाख, सानिमा रिलायन्सले ७५ करोड ६९ लाख, मेट लाइफले ६२ करोड ८१ लाख, रिलायबल नेपालले ६२ करोड ५५ लाख, प्रभु महालक्ष्मीले ६० करोड ४५ लाख, आइएमई लाइफले ५९ करोड ८३ लाख, सन नेपालले ४७ करोड १८ लाख, र राष्ट्रिय जीवन बीमा कम्पनीले ४४ करोड ९१ लाख रुपैयाँ नयाँ व्यवसाय आर्जन गरेका छन्।
कसको व्यवसाय नयाँ व्यवसाय घट्यो, कसको बढ्यो ?
नयाँ व्यवसाय विस्तारको दर हेर्दा पहिलो ६ महिनामा सबैभन्दा बढी व्यवसाय विस्तार गर्न प्रभु महालक्ष्मी लाइफ सफल भएको छ। यस अवधिमा कम्पनीको पहिलो बीमाशुल्क संकलन ४८.९४ प्रतिशतले बढेको छ।
यस्तै राष्ट्रिय जीवन बीमाको ४१.२६ प्रतिशत, एलआईसी नेपालको २७ प्रतिशत, नेपाल लाइफको २४.६० प्रतिशत, र सूर्यज्योति लाइफको व्यवसाय २२.९६ प्रतिशतले बढेको छ। यता रिलायबल नेपाल लाइफको व्यवसाय २.९४ प्रतिशतले, आइएमई लाइफको ११ प्रतिशतले र सन नेपाल लाइफको पहिलो बीमाशुल्क संकलन २९.२७ प्रतिशतले घटेको छ।