बीपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माणका लागि कति को ठेक्का भयो आह्वान ?
बीपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माणका लागि ७२ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ। गत असोजमा आएको बाढीपहिरोका कारण सडकमा ठूलो क्षति पुगेपछि यसको स्थायी पुनर्निर्माण अपरिहार्य भएको थियो। सडक डिभिजन खुर्कोट, खाल्टेमार्फत नेपालथोक-बर्खेखोला खण्डको पुनर्निर्माणका लागि ३० दिने समयसीमासहित बोलपत्र आह्वान गरिएको छ।
सिन्धुली खण्डको पुनर्निर्माणका लागि ठेक्का आह्वानसँगै काभ्रे खण्डको पुनर्निर्माणका लागि पनि तयारी भइरहेको छ। बीपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग भएको थियो, जसअनुसार भक्तपुर खण्डका लागि ७ अर्ब ५० करोड र खुर्कोट खण्डका लागि १ अर्ब रुपैयाँ स्वीकृत गरिएको छ। बजेट सुनिश्चित भएसँगै सिन्धुली खण्डको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।
गत असोजको बाढीले काभ्रे भञ्ज्याङ–नेपालथोक खण्डमा सबैभन्दा ठूलो क्षति पुर्याएको थियो। १२ किलोमिटर सडकलाई असर पुर्याएकोमा ८.७ किलोमिटर सडक रोशी खोलाले पूर्ण रूपमा बगाएको थियो। प्रभावित २८ किलोमिटर सडकलाई चार प्याकेजमा विभाजन गरिएको छ, जसमा तीन प्याकेज काभ्रे र एक सिन्धुलीमा पर्छ। सिन्धुली खण्डमा मात्रै करिब २.५ किलोमिटर सडक पुनर्निर्माण गरिनुपर्नेछ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अनुसार सिन्धुली खण्डको पुनर्निर्माणका लागि ७२ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ। बाँकी खण्डहरूका लागि पनि क्रमशः ठेक्का खुलाउने प्रक्रिया अघि बढाइएको छ। पुनर्निर्माण सम्पन्न भएपछि बीपी राजमार्गको चौडाइ १० मिटर हुनेछ, जसमा सात मिटर कालोपत्रे सडक र तीन मिटर नाला तथा अन्य संरचना रहनेछन्।
गत वर्ष बाढीले राजमार्ग बगाएपछि अस्थायी डाइभर्सनमार्फत १३ दिनमै सडक सञ्चालन गरिएको थियो। तर, अस्थायी संरचनाले हिउँदमा समेत समस्या निम्त्याउने भएकाले स्थायी पुनर्निर्माण आवश्यक देखिएको थियो। नेपाल सरकारले यस पुनर्निर्माणका लागि जापान सरकारसँग आर्थिक सहयोग अनुरोध गरिसकेको छ। केही समयअघि परराष्ट्र मन्त्री आरजु राणा देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग भेट गरी आर्थिक सहायता मागेकी थिइन्। यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग पुनर्निर्माणका लागि सहकार्यको अपील गरेका थिए।