भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको आगजनी, तोडफोड र अन्य क्षतिबाट हालसम्म निर्जीवन बीमा कम्पनीहरुमा करिब २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको दाबी पेश भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १,९८४ वटा दाबी दर्ता भइसकेका छन्। आन्दोलनले हिल्टन होटल, भाटभटेनी, एनसेल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युलेन्स स्कूल र थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कलगायतका ठूला कर्पोरेट भवनलाई समेत ठूलो क्षति पुगेको थियो। यसबाहेक धेरै व्यापारीका घर र आवासीय भवनमा क्षति पुगेको छ भने सवारीसाधनमा पनि नोक्सानी भएको छ।
भदौ ३१ गतेसम्म बीमा कम्पनीमा १,९८४ वटा दाबी दर्ता भएका छन्। सबैभन्दा बढी रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँभन्दा बढीको दाबी दर्ता भएको छ। यसैगरी दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यस कम्पनीमा करिब ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँबराबरको दाबी दर्ता भएको छ।
तेस्रोमा शिखर इन्स्योरेन्समा करिब २ अर्ब ३९ करोड ४ लाख रुपैयाँको बीमा दाबी परेको छ।
त्यस्तै चौथो स्थानमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ, जसमा करिब १ अर्ब ५९ करोड ६ लाख रुपैयाँको दाबी परेको छ। पाँचौंमा सगरमाथा–लुम्बिनी इन्स्योरेन्समा करिब १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, छैटौंमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र सातौंमा नेको इन्स्योरेन्समा करिब १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
त्यसपछि सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख र नेसनल इन्स्योरेन्समा करिब ६ करोड ८२ लाख बराबरको दाबी दर्ता भएको छ।
उता लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ दाबि परेको छ।यस्तै स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ।


प्रतिकृया