स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत, आठौं तहसरहको सुविधा पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत, आठौं तहसरहको सुविधा पाउने

स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि १८० जना मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ। बोर्डले ९० दिनको अवधिका लागि योग्य चिकित्सक मागेको हो।बोर्डले आज एक सूचना प्रकाशित गर्दै मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाणपत्र प्राप्त गरेका २१ देखि ४५ वर्ष उमेर समूहका उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ। आवेदन खुलाइएको मितिले ७ दिनभित्र इच्छुकले दरखास्त दिन सक्नेछन्।

छनौट अन्तर्वार्तामार्फत गरिनेछ। सफल उम्मेदवारले नेपाल सरकारको आठौं तहसरहको तलब सुविधा पाउनेछन्। साथै, आफ्नो ल्यापटप वा वर्किङ डिभाइस प्रयोग गरेबापत ७ हजार ५०० रुपैयाँ एकमुष्ठ प्रदान गरिनेछ। अतिरिक्त समय काम गरेबापत पनि अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका अनुसार भुक्तानी गरिनेछ।

बोर्डले मागदाबीको रिभ्यू कार्यमा ती अधिकृतहरूलाई खटाउने जनाएको छ। साउन यता रोकिएको रिभ्यू पुनः सुरू गर्न जनशक्ति अभाव भएकाले यो भर्ना प्रक्रिया अघि बढाइएको हो। हाल बोर्डमा २५ बढी मेडिकल अफिसर, नर्स र फार्मासिस्ट रिभ्यूमा खटिइरहेका छन्। बोर्डले अहिलेसम्म १६ अर्बभन्दा बढीको बीमा भुक्तानी तिर्न बाँकी रहेको जनाएको छ। बजेट वक्तव्यमा सेवा प्रदायकको बक्यौता रकम फरफारक गर्ने घोषणा अनुसार बोर्डले रिभ्यू तीव्र बनाउन यो कदम चालेको हो। यस्तै, पछिल्लो पटक स्वास्थ्य सेवा विभागले ३० बढी छात्रवृत्तिका मेडिकल र नर्सिङ अधिकृतलाई पनि बोर्डमा खटाउने निर्णय गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स