प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकास र विस्तारमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। तयारी पोसाक उद्योगसँग सम्बन्धित समस्या समाधान गर्दै उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन आवश्यक पहल गरिने उनको भनाइ छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीको हितमा सरकार सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।
छलफलपछि प्रधानमन्त्रीले विभागीय मन्त्रीलाई ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ तत्काल गठन गर्न निर्देशन दिएका छन्। तयारी पोसाक व्यवसायीले यस्तो काउन्सिल गठन भए स्वदेशमा उपलब्ध कच्चापदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनमा सहजता आउने अपेक्षा गरेका छन्।
उद्योगी–व्यवसायीको मागअनुसार प्रधानमन्त्रीले रुग्ण उद्योग तत्काल सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई पनि निर्देशन दिएका छन्।
त्यसैगरी, निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) भित्र्याउने वातावरण बनाउन तथा ‘टेस्टिङ सर्टिफिकेसन’को अभावका कारण अमेरिकामा रोकिएका तयारी पोसाक वस्तुको निर्यात सहज बनाउन आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री शाहले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा रूपान्तरण गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले यस क्षेत्रले भोगिरहेका समस्या समाधानमा सरकार सक्रिय रूपमा लाग्ने बताए।
छलफलमा तयारी पोसाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए।

प्रतिकृया