नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले महासचिव शंकर पोखरेलको पछिल्लो अभिव्यक्तिलाई कडा प्रतिक्रिया दिएका छन्। रोल्पाको माडी गाउँपालिकामा पार्टी अधिवेशनलाई सम्बोधन गर्दै पुनले पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘हरुवा’ भनेर दिएको अभिव्यक्तिप्रति असहमति जनाएका हुन्।
पुनले भने, “हाम्रो अध्यक्ष प्रचण्ड २०६४ यता कुनै पनि निर्वाचनमा पराजित हुनुभएको छैन। बहुमत जुटाएर १८ महिनासम्म सरकार चलाउनु भएको हो। तर, २०७९ मा दाङ क्षेत्र नम्बर–२ मा नेता रेखा शर्मासँग हारेका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भन्नु हास्यास्पद छ।”उनले थपे, “शंकरजी २०७० सालमा एमालेको पक्षमा उभार आउँदा समेत आफ्नै गृह जिल्लामा पराजित हुनुभयो। अहिले फेरि हारेपछि अरूलाई हरुवा भन्नु लाजमर्दो कुरा हो। हरुवाले सरकार चलाउने युगको अन्त्य गर्छौँ भन्ने उहाँकै भनाइले उहाँको मनोदशा स्पष्ट पारेको छ।”
साथै, सरकारले हालसम्म दलाल, बिचौलिया र तस्करहरूको स्वार्थमा काम गरेको उनको टिप्पणी थियो । आफूले प्रधानमन्त्री केपी ओलीले भनेका व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगर्दा सरकार ढालिएको भन्दै उनले बिचौलियाको डिजाइनमा तिनै व्यक्तिलाई नियुक्त गरेर सरकारले आफूहरूले भन्दै आएको आरोप पुष्टि गरेको पुनको भनाइ थियो ।
पुनले पोखरेलको अभिव्यक्तिको विरोध गर्दै काँग्रेस र एमालेको मिलनलाई ‘पुँजीवादी वर्गको सहकार्य’ भने। उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार, तस्करी र राज्य दोहनमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्दा काँग्रेस र एमालेले डराएर मिलेमतो गरेको आरोप लगाएका छन्। पुनले हालको सरकारलाई असफल बनाउने प्रयास भइरहेको भन्दै २०८४ को निर्वाचनमा जनताले काँग्रेस र एमालेको गतिविधिको जवाफ दिने समेत चेतावनी दिए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया