नेपाली कांग्रेसका सभापति गगन थापाले आफू उम्मेदवार बनेको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का समस्या अध्ययन र पहिचान गर्न शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा सूचना प्रविधि (आईटी) सम्बन्धी टोली परिचालन गरेका छन्।
सर्लाहीमा रहेका थापाले मतदातासँगको भेटघाटमा आफूले योजनाबद्ध र व्यवस्थित रूपमा काम गर्न चाहेको बताए। उनले नागरिकको मन जितेरै आफू तीन पटक काठमाडौंबाट निर्वाचित भइसकेको र अहिले चौथो पटक चुनाव लड्न आएको अवस्था बनेको उल्लेख गरे।
थापाले सर्लाही क्षेत्र नम्बर ४ मा सांसदको स्थायी कार्यालय स्थापना गर्ने घोषणा गर्दै आफू सांसद बनेदेखि नै व्यवस्थित रूपमा कार्यालय सञ्चालन गर्ने नेपालको पहिलो सांसद भएको दाबी गरे। उनका अनुसार उक्त कार्यालयमा क्षेत्रका नागरिकले जुनसुकै बेला पुगेर आफ्ना समस्या टिपाउन सक्नेछन्।
उनले सर्लाहीसँगै काठमाडौंमा पनि सर्लाही–४ का लागि कार्यालय रहने जानकारी दिए। “यहाँ उठेका समस्या तुरुन्त काठमाडौंको कार्यालयमा जानकारी हुन्छ। धेरैजसो काम यहीँबाट सम्पादन गर्छु र नियमित रूपमा सर्लाही आउँछु,” उनले भने।
थापाका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र सूचना प्रविधिका टोलीहरूले सर्लाही–४ का प्रत्येक कुनामा पुगेर स्थानीय समस्या, विषय र मुद्दाको अध्ययन गर्नेछन्। सो अध्ययनका आधारमा आगामी पाँच वर्षको कार्ययोजना तयार गरिने उनले बताए।
उनले मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही–४ लाई उत्कृष्ट काम भएको क्षेत्र बनाउने प्रतिबद्धता जनाउँदै आफू लामो समय सक्रिय राजनीतिमा रहने बताए। “मेरो राजनीतिक यात्रा भर्खरै सुरू भएको छ। आगामी ८–१० वर्ष सक्रिय राजनीतिमा रहनेछु,” थापाले भने।















प्रतिकृया