फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा ३७.३२ प्रतिशतले बढेर ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी दुवैमा वृद्धि भएको कारण संस्थाको नाफा बढेको हो। समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १८.९२ प्रतिशतले बढेर ३३ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १७.३२ प्रतिशतले बढेर ३७ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा सञ्चालन नाफा पनि ३७.६६ प्रतिशतले बढेर ८ करोड १६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ०.८२ प्रतिशतबिन्दुले बढेर ८.२० प्रतिशत पुगेको छ।यस्तै, इम्पेयरमेन्ट चार्जका लागि ११ करोड ६८ लाख रुपैयाँ छुट्ट्याएको छ। फरवार्ड माइक्रोफाइनान्सले पहिलो त्रैमाससम्ममा १० अर्ब ३४ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी २० अर्ब ३३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।
संस्थाको वितरणयोग्य मुनाफा भने ९८.५ प्रतिशतले घटेर ३५ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ७५ लाख रुपैयाँ रहेको थियो। संस्थाको वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसाले ऋणात्मक अवस्थामा छ, जुन गत वर्ष २४ रुपैयाँ ६१ पैसा थियो।
चुक्ता पूँजी १ अर्ब १९ करोड ५९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भ कोषमा २ अर्ब ५ करोड ९ लाख रुपैयाँ सञ्चित छ।
संस्थाको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३५ पैसाले बढेर १९ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ ७९ पैसा रहेको छ। यस्तै, प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८७४ रुपैयाँ ७४ पैसा, मूल्य आम्दानी अनुपात ५६.५० गुणा र तरलता अनुपात ६.०८ प्रतिशत कायम भएको छ।


प्रतिकृया