फेरी बाढीले बगायो डाइभर्सन, बुटवल–नारायणगढ सडक पूर्णरूपमा बन्द
बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासीको दुम्कीवास क्षेत्रमा पर्ने वैकल्पिक मार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले मालवाहक सवारीका लागि निर्माण गरिएको अस्थायी डाइभर्सन र साना तथा यात्रुबाहक सवारीका लागि प्रयोग गरिएको भित्री सडक दुवै मार्ग बन्द भएका हुन्।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले सवारीसाधनलाई होङ्सी गेट–सर्दी–ज्यामिरे राजमार्ग हुँदै वैकल्पिक मार्गमा जान रोक लगाई सुरक्षित स्थानमा राखिएको छ।
प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव तीव्र भएपछि वैकल्पिक मार्ग पनि पूर्णरूपमा बन्द भएको हो। “अहिले दाउन्ने–दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधनको आवागमन सम्भव छैन,” प्रहरी उपरीक्षक ढकालले बताए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन यसअघि पनि पानीको बहावले पटक–पटक बगाउँदै आएको थियो। अहिलेको निरन्तर वर्षाले पुनः सोही समस्या दोहोरिएको छ।