अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दैछन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत हुन लागेको छलफलमा बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई आमन्त्रण गरिएको छ। छलफल अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुनेछ।
छलफलमा बहुराष्ट्रिय कम्पनीहरूले बजेटमार्फत पाएका सुविधा, नेपालमा व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या तथा लगानी विस्तारका विषयमा छलफल हुनेछ। साथै रोजगारी सिर्जना र कम्पनीले आर्जन गरेको प्रतिफल फिर्ता लैजाने विषयमा सरकारले गर्नुपर्ने सहजीकरणबारे पनि छलफल हुने छ।
अर्थमन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिलाई आफ्ना समस्या तथा सुझाव खुलस्त रूपमा राख्न र आवश्यक विवरण लिखित रूपमा समेत पेश गर्न आग्रह गर्ने कार्यक्रम रहेको छ।
बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो मात्रामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्याएका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्।
त्यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग समेत छलफल गरिसकेका छन्।
प्रतिकृया