भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]

Advertisement Ads

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत उत्पादन प्रभावित भए पनि अधिकांश जलविद्युत आयोजनामा प्रत्यक्ष क्षति नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन्।

डाँगीका अनुसार विशेषगरी कालीगण्डकी र मर्स्याङ्दी करिडोरमा नदीको सतह बढेपछि सुरक्षाका लागि केही आयोजनाको विद्युत उत्पादन रोकिएको छ। कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेपछि करिब ८०० मेगावाट क्षमताका आयोजना विद्युत ग्रिडबाट बाहिरिएका छन्।

प्रसारण लाइनमा समस्या आए पनि ती आयोजनाका उत्पादन संरचनामा प्रत्यक्ष क्षति नपुगेको डाँगीले स्पष्ट पारे। उनका अनुसार राउघाट जलविद्युत आयोजनाको स्विचमा भने क्षति पुगेको छ।

कालीगण्डकी करिडोरमा राउघाट ४० मेगावाट, राउघाट–मंगले ३७ मेगावाट, माथिल्लो राउघाट ४८.५ मेगावाट, निलगिरी ३८ मेगावाट, निलगिरी क्यास्केड ७१ मेगावाट, घलेम्दी ५ मेगावाट, घारखोला १४ मेगावाट, माथिल्लो ठूलो खोला २२.५ मेगावाट, ठूलो खोला २१.५ मेगावाट, मिस्त्रीखोला ४२ मेगावाट र थापाखोला १३.६ मेगावाटका आयोजना उत्पादनबाट बाहिर रहेका छन्।

त्यस्तै, मर्स्याङ्दी करिडोरमा नदीको सतह बढेपछि आयोजनाको सुरक्षा तथा पावरहाउस र सुरुङभित्र पानी पस्न नदिन गेट बन्द गरेर उत्पादन रोकिएको छ। कालीगण्डकी ‘ए’ १४४ मेगावाट, मर्स्याङ्दी ५० मेगावाट, सुपर मादी ४४ मेगावाट, सेती २५ मेगावाट, माथिल्लो मादी २५ मेगावाट, नामार्जुङ १२ मेगावाट, मर्स्याङ्दी ६९ मेगावाट र मध्यमर्स्याङ्दी ७० मेगावाटका आयोजना यसरी बन्द गरिएको डाँगीले बताएका छन्।

चामेमा मर्स्याङ्दी थुनिँदा जोखिम

मनाङको चामे क्षेत्रमा पहिरोका कारण मर्स्याङ्दी नदी थुनिएपछि जोखिम बढेको डाँगीले बताएका छन्। नदीमा ठूलो मात्रामा पानी जम्मा भएकाले एकैपटक फुटेर बगेमा तल्लो तटीय क्षेत्रमा भौतिक क्षति हुनसक्ने भन्दै उक्त क्षेत्रको निगरानी भइरहेको उनले बताए।

चामे क्षेत्रमा करिब ७–८ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको डाँगीले जानकारी दिए। हालसम्म ती आयोजनामा प्रत्यक्ष क्षति भएको जानकारी नआएको उनको भनाइ छ।

रसुवाको बाढीबाट ४३१ मेगावाट प्रभावित

रसुवामा आएको बाढीका कारण ४३१ मेगावाट विद्युत उत्पादन प्रसारण प्रणालीबाट बाहिर रहेको विषयमा डाँगीले १५५ मेगावाट क्षमतामा प्रत्यक्ष क्षति नभएको बताएका छन्। उक्त १५५ मेगावाट प्रसारण लाइनको समस्याका कारण उत्पादन रोकिएको हो।

बाँकी आयोजनामा भने क्षति पुगेको र त्यसको विस्तृत अवस्था स्थलगत सर्वेक्षणपछि मात्रै स्पष्ट हुने उनले बताए। क्षतिको स्तरअनुसार आयोजना पुनः सञ्चालनमा आउन लामो समय लाग्न सक्ने उनको भनाइ छ।

१५५ मेगावाट छिट्टै ग्रिडमा ल्याउने तयारी

प्रसारण लाइनको समस्याका कारण रोकिएको १५५ मेगावाट विद्युतलाई सकेसम्म छिटो ग्रिडमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग समन्वय भइरहेको डाँगीले बताएका छन्। उनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राधिकरणले तयारी अघि बढाइसकेको छ।

क्षतिग्रस्त प्रसारण संरचना निर्माणमा निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्नेमा उनले जोड दिएका छन्।

बाढीपछि केही आयोजनालाई पूर्ण क्षमतामा चलाउने अवसर

प्रसारण प्रणालीबाट केही आयोजना बाहिरिएपछि ‘टेक एन्ड पे’ प्रणालीअन्तर्गत रहेका अन्य आयोजनालाई पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने अवसर मिलेको डाँगीले बताए। यसअघि उत्पादन घटाउन आग्रह हुने अवस्थामा अहिले उपलब्ध आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्न भनिएको उनको भनाइ छ।

यस वर्ष असोजमा समेत ठूलो वर्षा भएकाले नदीमा पानीको बहाव केही समय उच्च रहन सक्ने र त्यसले जलविद्युत आयोजनाको उत्पादनमा सहयोग पुग्न सक्ने उनले बताए। सामान्यतया बर्खाको विद्युत उत्पादन अवधि असोज मध्यतिर सकिँदै जाने भए पनि यसपटक वर्षा लम्बिएकाले उत्पादन अवधि केही बढ्न सक्ने उनको भनाइ छ।

अधिकांश जलविद्युत आयोजना सुरक्षित

डाँगीका अनुसार हालसम्म जलविद्युत आयोजनाका हेडवर्क्समा ठूलो क्षति पुगेको सूचना आएको छैन। कालीगण्डकी र मर्स्याङ्दी करिडोरमा मुख्य समस्या नदीको बढेको सतह, पहिरो र प्रसारण लाइनतर्फ देखिएको छ।

सरकारी निकाय, ऊर्जा क्षेत्रका संस्था र सञ्चारमाध्यमबाट समयमै सूचना प्रवाह भएकाले आयोजना सञ्चालक तथा स्थानीयस्तरमा सतर्कता बढेको र त्यसले सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुगेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स