instainsta

राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन, ‘मिसन १६ खर्ब’ सफल बनाउन पूर्ण समर्पणका साथ काम गर्न आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २४ गते
राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन, ‘मिसन १६ खर्ब’ सफल बनाउन पूर्ण समर्पणका साथ काम गर्न आग्रह
AdvertisementAds

आगामी आर्थिक वर्षका लागि तय गरिएको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त नेतृत्वलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।

भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यभार सम्हाल्नुअघि अर्थमन्त्रीले राजस्व संकलनलाई प्राथमिकतामा राखेर पूर्ण समर्पणका साथ काम गर्न आग्रह गरेका हुन्।

“व्यावसायिक रुपमा मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी ‘मिसन १६ खर्ब’का लागि इमानदारीपूर्वक लाग्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “चुहावट रोक्न, स्वेच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउँछ ।”

अर्थमन्त्रीले भन्सार तथा राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर अझ पारदर्शी र प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन्।

उनले भन्सार तथा करबाट हुने आम्दानी वृद्धि गरेर मुलुकको आन्तरिक आय बलियो बनाउनुपर्ने उल्लेख गर्दै त्यसले बाह्य ऋणमाथिको निर्भरता घटाउन र आफ्नै स्रोतमा आधारित विकासलाई गति दिन सहयोग पुग्ने बताएका छन्।

त्यसैगरी, मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न र इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न पनि अर्थमन्त्रीले निर्देशन दिएका छन्।

यही असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयअन्तर्गत नयाँ जिम्मेवारीमा सरुवा गरेको थियो। नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशन इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स