औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा तथा महसुल नतिरेका ६३ वटा उद्योगको बिजुली र पानीको लाइन काटेको छ । सरकारी जग्गा, भवन र औद्योगिक पूर्वाधार प्रयोग गरे पनि भुक्तानी नगरेका उद्योगमाथि लिमिटेडले बुधबारदेखि कारबाही थालेको हो ।
लिमिटेडका अनुसार कारबाही सुरु गरिएको पहिलो दिन नै बक्यौता रहेका उद्योगबाट करिब १० करोड रुपैयाँ असुल भएको छ । बक्यौता बुझाउन आएका ८ वटा उद्योगको भने तत्कालै विद्युत् तथा पानीको लाइन पुनः जडान गरिएको छ ।
देशभरका १० वटा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले लामो समयदेखि भाडा र सेवा शुल्क नतिरेपछि कारबाही अघि बढाइएको लिमिटेडले जनाएको छ ।
कारबाहीमा सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग परेका छन् । त्यहाँका बालाजु अटो वक्र्स, गुराँस इन्जिनियर्स, बालाजु अटो क्लिनिक, आरके प्लास्टिक, उत्सव प्लास्टिक, एटलस पेट प्लस, नेपाल पोली पाइप, पूजा इन्टरनेसनल, जयहनुमान फुड, उडेन एसोसिएसन एन्ड स्पोर्ट्स, जेनस इन्जिनियरिङ, मोहित स्पाइसेज एन्ड फुड प्रोडक्ट्सलगायतका उद्योगको लाइन काटिएको छ ।
त्यस्तै बालाजु औद्योगिक क्षेत्रकै काठमाडौं डोमेस्टिक सप्लाइज, ग्लो इन्टरनेसनल, गोकुल इन्डस्ट्रिज, कर्मचारी प्लास्टिक उद्योग, मनोज प्रिन्टिङ हाउस, नेपाल पेन्ट्स, नेपाल म्याग्नी इन्जिनियरिङ उद्योग, पब्लिक एसेट, त्रिकोण मेटल इन्डस्ट्रिज, त्रिकोण बेभरेज, तुलिप प्रोडक्ट्स र सूर्य सनसाइनको पनि विद्युत् तथा पानी काटिएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रका १३ उद्योग पनि कारबाहीमा परेका छन् । जसमा प्रतिक उडान ट्रिटमेन्ट, सहयात्री जिप उद्योग, फेसन पेन्ट्स उद्योग, सी एभरेष्ट एन्ड काइफु नेपाल, युनिक प्लास्टिक उद्योग, नोवेल प्याकेजिङ, सूर्य पेन्ट्स एन्ड केमिकल, नेपाल रोटो प्रिन्टिङ एन्ड प्याकेजिङ, भुवनेश्वर प्लास्टिक, हेटौंडा इन्जिनियरिङ वर्क्स, गोदावरी प्लास्टो क्राफ्ट इन्जिनियरिङ, सञ्जिवनी अक्सिजन र साउथ एसियन पोलिपाइप रहेका छन् ।
पाटन औद्योगिक क्षेत्रका ७ उद्योगमा पनि कारबाही भएको छ । बिल्डिङ मटेरियल, नेप्लिज ह्यान्डिक्राफ्ट, सरस्वती टेक्सटायल, हिमालयन क्राफ्ट, भैरवनाथ आइरन, अनुज मेटल र ललितपुर कलात्मक उद्योगको लाइन काटिएको हो ।
यसैगरी पोखरा औद्योगिक क्षेत्रका पन्थी इन्डस्ट्रिज, ग्लोबल केवल, विनित मेटल उद्योग, ए वान ब्लक उद्योग र पोखरा कपास गरी ५ उद्योग, बुटवलका ओसिन पावर, दुर्गालक्ष्मी इन्जिनियरिङ, वेबी प्लास्टिक र लक्ष्मी इन्जिनियरिङ गरी ४ उद्योग तथा भक्तपुरका ओम सत्यसाई प्लास्टिक उद्योग, सिर्डी इन्जिनियरिङ, कान्तिपुर फिड र जय सञ्जिवनी डेरीको लाइन काटिएको छ ।
नेपालगञ्जका अमानी ट्रेडर्स, लभ ए एग्रो र भेरी प्राविधिक शिक्षालय, धरानका जेबी स्टिल एन्ड आइरन र प्रशन्न प्लास्टिक तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अन्जु फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज पनि कारबाहीमा परेका छन् ।
लाइन काटिएपछि बक्यौता रकम बुझाउने ८ उद्योगको सेवा भने पुनः सञ्चालन गरिएको छ । जसमा बालाजुका बालाजु अटो वक्र्स, आरके प्लास्टिक, एटलस पेट प्लस र नेपाल पोली पाइप, पाटनका भैरवनाथ आइरन र अनुज मेटल, पोखराको पोखरा कपास तथा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय रहेका छन् ।
६३ उद्योगमध्ये ८ उद्योगले बक्यौता तिरेपछि हाल ५५ उद्योगको विद्युत् तथा पानी सेवा बन्द अवस्थामा छ । लिमिटेडले बिहीबार पनि बक्यौता नतिर्ने अन्य उद्योगमाथि कारबाही जारी राख्ने जनाएको छ ।

प्रतिकृया