ग्लोबल मनी विक 2026 (मार्च १६–२२) को अवसरमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा लगानी गर्ने युवा र सर्वसाधारणका लागि सन्देश सार्वजनिक गरेको छ।
बोर्डले लगानीकर्तालाई धितोपत्र बजारमा समय समयमा उतार–चढाव आउन सक्ने भएकाले संयम, विवेकशीलता र यथार्थ जानकारीमा आधारित निर्णय लिन आग्रह गरेको छ। नवप्रवेशी लगानीकर्ताले प्राथमिक बजारबाट लगानी सुरु गर्नुपर्ने र कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी संस्थापक, व्यवस्थापन, वित्तीय स्थिति र क्रेडिट रेटिङ्ग जस्ता महत्वपूर्ण पक्षहरूको विश्लेषण गर्नु पर्ने बताइएको छ। दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, वार्षिक/आवधिक प्रतिवेदन, मूल्य प्रवृत्ति, साधारण सभाका निर्णय तथा सम्बन्धित उद्योग/क्षेत्रको अवस्था जस्ता पक्षहरूको अध्ययन गर्नुपर्ने पनि बोर्डले उल्लेख गरेको छ।
धितोपत्रमा लगानी गर्नु अघि आफ्नो उद्देश्य, समयावधि र अपेक्षित आम्दानी स्पष्ट राख्नुपर्ने, संस्थाको प्रकृति, सम्भावित प्रतिफल, वित्तीय विवरण, व्यवस्थापन, उद्योग अवस्था, कानूनी वातावरण, व्यापार मोडेल र प्रतिस्पर्धात्मक लाभ जस्ता आधारभूत पक्षहरू अध्ययन गर्नुपर्ने सुझाइएको छ। बोर्डले देशको आर्थिक तथा राजनीतिक स्थिति पनि धितोपत्र मूल्यमा प्रत्यक्ष असर गर्ने भएकाले यसप्रति सजग रहनु पर्ने र सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, टिकटक, युट्यूब, इन्स्टाग्राम) मा प्रकाशित अनुमान, प्रक्षेपण वा विचारमाथि मात्र भर नपर्न समेत आग्रह गरेको छ। अरूको देखासिखी वा लोकप्रियताको प्रभावमा लगानी नगर्न, स्वतन्त्र अनुसन्धान गरेर निर्णय लिन, अत्यधिक फाइदाको ग्यारेन्टी दिने वा छिटो निर्णय गर्न दबाब दिने व्यक्तिहरूबाट सावधान रहन पनि सल्लाह दिइएको छ।
बोर्डले लगानी गर्दा मुद्रास्फिति, बैंकको तरलता र व्याजदरलाई ध्यानमा राख्न, जोखिम व्यवस्थापनका लागि लगानीको विविधीकरण गर्न र आपतकालीन कोष राख्न, भित्री सूचना वा कर्नरिङ्गबाट हुने अस्वभाविक मूल्य उतार–चढावबाट टाढा रहन, रकमको लेनदेन बैंकमार्फत मात्र गर्न र धितोपत्र दलालले लिने शुल्कको कानुनी व्यवस्था बुझ्न आग्रह गरेको छ। साथै, केवल नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त व्यवसायी मार्फत मात्रै कारोवार गर्न, संस्थागत लगानीकर्ताको अभ्यास र रणनीतिहरू अध्ययन गर्न र आधिकारिक जानकारीका लागि सिडिएससी, नेप्से, धितोपत्र बोर्ड, बीमा समिति, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको वेबसाइट हेर्न पनि सुझाइएको छ। जिज्ञासा वा गुनासो भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता, सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्न सकिने उल्लेख गरिएको छ। बोर्डले लगानीकर्तालाई सजग, विवेकशील र सावधानीपूर्वक निर्णय गर्न जोडदार आग्रह गरेको छ ताकि धितोपत्र बजारमा सुरक्षित र दीगो लगानीको वातावरण सुनिश्चित गर्न सकियोस्।


प्रतिकृया