मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफल सकारात्मक रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलपछि उनीहरूले समस्या समाधानका लागि सरकारले देखाएको पहललाई सकारात्मक रूपमा लिएको बताएका हुन्।
नेताहरूले तराईका केही जिल्लामा पछिल्लो समय देखिएका समस्याबारे प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिएको र समस्या समाधानप्रति प्रधानमन्त्री संवेदनशील तथा प्रतिबद्ध देखिएको बताएका छन्।
छलफलपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भने, “प्रधानमन्त्रीज्यूले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ ।”
उनले तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्रीलाई सुझाव दिइएको बताए।
“अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि र्यापिड एक्सन टिम गठन गर्नका लागि सुझाव दिएका छौँ, त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धी तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेका छौँ ।” उनले भने।
मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत विवाद साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक हुने उल्लेख गर्दै घटनाका दोषीमाथि कारबाही र अवस्था सामान्य बनाउन प्रधानमन्त्रीसमक्ष सुझाव प्रस्तुत गरिएको बताए।
त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेशसँग भएका सम्झौता कार्यान्वयन गर्न, सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न तथा मधेशमा देखिएका समस्या समाधानका लागि सरकारको सक्रियता थप बढाउन प्रधानमन्त्रीसँग आग्रह गरिएको जानकारी दिए।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेता सहभागी थिए।
प्रतिकृया