नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस, एमालेसहित मधेश केन्द्रित दलहरूसँग राजनीतिक संवाद सुरु भएको बताएका छन्। पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीति नयाँ शिराबाट संवाद र सहकार्यतर्फ अघि बढिरहेको उल्लेख गरे।
उनले राजनीतिक यात्रामा उतार–चढाव स्वाभाविक रहेको बताउँदै विगतका निर्वाचन परिणामहरू स्मरण गरे। प्रचण्डले २०६४ सालमा पार्टी एक्लै बहुमत नजिक पुगेको, २०७४ सालमा दुई तिहाइ नजिकको शक्ति बनेको तथा हाल भने कठिन परिस्थितिबाट गुज्रिनु परेको अनुभव साझा गरे।
पार्टीभित्र केही नेताहरू निराश भएको टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले निराश नहुन आग्रह गरे। उनले भने, समाजवाद र कम्युनिस्ट आन्दोलनको नयाँ उभार छिट्टै आउने विश्वास व्यक्त गर्दै सकारात्मक सोच राख्नुपर्नेमा जोड दिए।
सरकारका गतिविधिबाट जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै उनले हालको राजनीतिक अवस्था रोचक र परिवर्तनमुखी बन्दै गएको टिप्पणी गरे। साथै, सामाजिक सञ्जालमा उठ्ने भ्रष्टाचार र ‘नेपो बेबी’ जस्ता बहसहरूले जनचेतना बढाएको र जनताले सत्य बुझ्ने समय नजिकिएको उनको भनाइ थियो।















प्रतिकृया