फिनटेक छोडेर मानव मस्तिष्कको स्पेक्ट्रम बुझ्दै ध्रुव: बनाउँदैछन् ‘सनफ्लावर इकोसिस्टम’

फिनटेक छोडेर मानव मस्तिष्कको स्पेक्ट्रम बुझ्दै ध्रुव: बनाउँदैछन् ‘सनफ्लावर इकोसिस्टम’

नेपालको सूचना प्रविधि र स्टार्टअप क्षेत्रमा ‘खल्ती’ डिजिटल वालेट परिचित नाम हो। यसको सफलताको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूमध्ये एक हुन् ‘ध्रुव अधिकारी’ । अधिकारीले करिअरको उच्च शिखरमा पुगेकै बेला उनले अप्रत्याशित रूपमा कोडिङ र फिनटेकको क्षेत्र छोड्ने निर्णय लिए।

खल्तीबाट बाहिरिएपछि धेरैले उनी फेरि अर्को फिनटेक कम्पनी सुरु गर्ने अनुमान गरेका थिए। तर उनले सबैको सोचभन्दा फरक बाटो रोजे।

अधिकारीले प्रविधिको दुनियाँ छोडेर अटिजम भएका बालबालिका र उनीहरूको परिवारका लागि एउटा ठूलो प्रणाली (इकोसिस्टम) बनाउने लक्ष्य लिए। उनले गएको श्री पञ्चमी (सरस्वती पूजा)को दिन आफ्नो नयाँ यात्राको घोषणा गरेका थिए।

“मैले खल्ती छाड्नु कुनै हतारको निर्णय थिएन,” ध्रुव अधिकारी भन्छन्, “यो निर्णय मैले दुई वर्षअघि नै योजना बनाएर लिएको हुँ। मर्जरको काम ‘सीटीओ’को रूपमा पूरा गरेपछि मात्रै बाहिरिने योजना बनाएको थिएँ।”

SUNFLOWER Team 5 https://bajarkochirfar.com/dhruv-adhikari-leaves-fintech-to-build-sunflower-ecosystem-for-autism | %tags

कम्प्युटरको कोडदेखि मानव मस्तिष्कसम्म

ध्रुवका लागि अटिजमको क्षेत्र पूरै नयाँ भने थिएन। आफ्नै वरिपरि अटिजमका केसहरू बढ्दै गएको देखेपछि उनलाई यसमा केही गर्नुपर्छ भन्ने भावना बलियो हुँदै गएको थियो।

करिब ३–४ वर्षअघि उनले आफ्नो प्राविधिक ज्ञान प्रयोग गरेर ‘आरएक्सपिन (RxPin)’ नामको स्टार्टअप सुरु गरे। उनले थेरापी सेन्टरहरूलाई डिजिटल बनाउने सफ्टवेयर बनाएका थिए। यसको उद्देश्य थेरापिस्टहरूको काम सजिलो बनाउनु, एआई प्रयोगद्वारा सेवा प्रभावकारी बनाउनु र अभिभावकलाई आवश्यक जानकारी उपलब्ध गराउनु थियो।

ध्रुव भन्छन्, “सुरुमा मैले थेरापी सेन्टरलाई डिजिटल बनाउने र अभिभावकलाई सहयोग गर्ने सोचले ‘आरएक्सपिन’ बनाएँ। तर पछि बुझ्दै जाँदा नेपालमा यस्ता सेन्टर जम्मा ६४ वटा मात्रै (अहिले करिब ११०) रहेको थाहा भयो। । यस्तो अवस्थामा सफ्टवेयर मात्रै विस्तार हुन धेरै समय लाग्ने देखियो। ‘त्यसपछि मलाई लाग्यो- म आफैंले ‘सर्भिस’ भित्र पस्नुपर्छ। यसबारे जति धेरै बुझ्दै गएँ, यो काम झन् सन्तुष्टिदायी लाग्दै गयो, र त्यही अनुसार योजना बनाउँदै गएँ’, उनले भने।

नेपालमा अटिजमको वास्तविक अवस्था बाहिर देखिएभन्दा धेरै गम्भीर छ। सरकारी तथ्यांकले यसको पूरा चित्र देखाउँदैन। वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा ४,८८६ जना मात्रै अटिजम भएका व्यक्ति देखिन्छन्। तर धेरैलाई अटिजम के हो भन्ने नै थाहा नभएकाले वास्तविक संख्या यसभन्दा धेरै बढी हुन सक्ने अनुमान छ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा तीन लाख जनसङ्ख्यामा अटिजम भएको अनुमान गरेको छ ।

के हो अटिजम?

अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित एक अवस्था हो, जसले व्यक्तिको सोच्ने, बोल्ने र सामाजिक व्यवहारमा फरक ल्याउँछ। अटिजम भएका व्यक्तिहरू अरूसँग कुराकानी गर्न वा भावनाहरू व्यक्त गर्न अलि गाह्रो महसुस गर्न सक्छन्। यो प्रायः सानै उमेरदेखि देखिन थाल्छ र व्यक्ति अनुसार फरक–फरक हुन्छ। उचित सहयोग र काउन्सेलिङ पाएमा उनीहरूले पनि सफल र अर्थपूर्ण जीवन जिउन सक्ने अधिकारी बताउँछन्।

आफ्नो अनुभव सुनाउँदै अधिकारी नेपाली समाजमा अटिजमबारे बुझाइ निकै कम भएको बताउँछन्।सहरका शिक्षित परिवारमा पनि बच्चामा अटिजम देखिँदा ‘अब के गर्ने?’ भन्ने स्पष्ट जानकारी हुँदैन। कतिपयले ‘ढिलो बोलेको’ भन्दै बेवास्ता गर्छन्।ग्रामीण क्षेत्रमा त अवस्था झन् कठिन छ। जनचेतना, शिक्षा र स्रोतसाधनको अभावका कारण धेरै परिवारले अटिजम भएका बच्चालाई आवश्यक केयर गर्ननै सकिरहेका छैनन्। नेपालमा अटिजमसँग सम्बन्धित क्षेत्रमा ध्रुवले पाँचवटा मुख्य समस्या पहिचान गरेका छन्:

१. जानकारीको अभाव: धेरै अभिभावकलाई अटिजम के हो भन्ने स्पष्ट जानकारी हुँदैन। बच्चामा लक्षण देखिँदा पनि ‘अब के गर्ने?’ भन्ने थाहा नहुँदा आवश्यक हेरचाह गर्न ढिला हुने गर्छ।

२. स्रोत र जनशक्तिको कमी: बच्चाको अवस्था चाँडै पहिचान भए पनि कहाँ जाने भन्ने अन्योल हुन्छ। देशभर पर्याप्त थेरापी सेन्टर र दक्ष थेरापिस्टको अभाव छ।

३. अत्यधिक महँगो शुल्क: थेरापी र हेरचाह निकै महँगो छ। एउटै थेरापीको मासिक खर्च नै करिब ४० हजार रुपैयाँसम्म पुग्छ। अन्य सेवा थपिँदा यो खर्च सामान्य परिवारको पहुँचभन्दा बाहिर जान्छ।

४. समावेशी शिक्षा प्रणालीको अभाव: बच्चा ठूलो हुँदै जाँदा पढाउन स्कुल पाउन गाह्रो हुन्छ। धेरै स्कुलले भर्ना लिन मान्दैनन्, र लिइहाले पनि अटिजम भएका बालबालिकालाई बुझेर पढाउन सक्ने विशेष शिक्षक (स्पेसल एजुकेटर) हुँदैनन्।

५. अभिभावकको करिअरमा असर: बच्चाको निरन्तर हेरचाह गर्नुपर्ने भएकाले आमा वा बाबुमध्ये एक जनाले आफ्नो जागिर छाड्नुपर्ने अवस्था आउँछ। यसले परिवारको आर्थिक अवस्था र दैनिकीमा ठूलो असर पार्छ।

SUNFLOWER Team https://bajarkochirfar.com/dhruv-adhikari-leaves-fintech-to-build-sunflower-ecosystem-for-autism | %tags

समाधानको सपना: ५० करोडको ‘सनफ्लावर’ योजना

यी सबै निराशा र अभावका बीच ध्रुवले एउटा आशाको केन्द्र बनाउदै छन्। अटिजमजस्तो क्षेत्रमा केवल च्यारिटी वा एनजीओ मोडलले दीर्घकालीन समाधान नदिने कुरामा ध्रुव स्पष्ट छन्। प्रोजेक्ट सकिएपछि सेवा पनि रोकिने प्रवृत्ति तोड्न उनले करिब ५०–६० करोड रुपैयाँको ‘पर्पस-लेड इन्भेस्टमेन्ट’ मोडल अघि सारेका छन्। उनका अनुसार, यसका लागि हालसम्म ८–१० करोड रुपैयाँ लगानी प्रतिबद्धता आइसकेको छ।

ध्रुवको यो योजना एउटा सानो क्लिनिक खोल्ने मात्र होइन। उनले एकआपसमा जोडिएका करिब १० वटा पहल समेटेर एउटा पूर्ण ‘इकोसिस्टम’ बनाउने सोच राखेका छन्।

यसका लागि ‘सनफ्लावर इक्विटी पार्टनर्स’ मार्फत आर्थिक आधार तयार गरिएको छ। यही आधारमा ‘सनफ्लावर इन्स्टिच्युट फर अटिजम’ स्थापना हुँदैछ।

काठमाडौंको चक्रपथबाट करिब १० किलोमिटर भित्र २२ रोपनी जग्गामा यो इन्स्टिच्युट बनाउने लक्ष्य छ। यहाँबाट हरेक वर्ष १५०० भन्दा बढी बालबालिकाले थेरापी, डे-केयर र आवासीय सुविधा पाउनेछन्। साथै, यहीँबाट थेरापिस्ट र विशेष शिक्षक उत्पादन गर्ने योजना पनि छ। काठमाडौं बाहिरबाट आउनेका लागि ‘सनफ्लावर होम्स’ हुनेछ भने बालबालिकाका लागि खेलकुद र मनोरञ्जनका विशेष कार्यक्रम पनि सञ्चालन गरिनेछ।

ध्रुवको टिमले घरमै बसेर बच्चालाई सिकाउन मिल्ने विशेष सामग्रीहरू पनि बनाइरहेको छ। एउटा १८x२४ इन्चको क्यालेन्डर देखाउदै,“ हामीलाई आज कुन बार हो वा कति गते हो भनेर बुझ्न कुनै गाह्रो हुँदैन। तर अटिजम भएका बच्चालाई समयको यो बुझ्न निकै गाह्रो हुन्छ। हामीले बनाएको यो क्यालेन्डरमा बच्चाले हरेक बिहान उठेर आजको मिति र बार आफैं सार्नुपर्छ। यसले उनीहरूलाई समय भनेको के हो भनेर बुझ्न सजिलो बनाउँछ। यस्ता धेरै सामग्रीहरू यही इन्स्टिच्युटभित्र बन्नेछन्”, अधिकारी भन्छन्।

उपचारलाई प्रविधिसँग जोड्न ‘आरएक्सपिन’ (RxPIN) नामक सफ्टवेयर विकास गरिएको छ। एआईमा आधारित यस प्रणालीले थेरापी सेन्टरहरूको कामलाई डिजिटल र व्यवस्थित बनाउँदै केयर म्यानेजमेन्ट सजिलो बनाउँछ। यो अरु थेरापी सेन्टरमा पनि प्रयोग गर्न सक्नेछन्। 

यही इकोसिस्टम्स भित्र उनले ‘गोल्डेन सनफ्लावर फाउन्डेसन’ पनि अघि सरेका छन्। फाउन्डेसन मार्फत सहयोग जुटाएर विपन्न परिवारका बालबालिकाको उपचारमा सहयोग गर्ने उनको योजना छ।

Sunflower ecosystem https://bajarkochirfar.com/dhruv-adhikari-leaves-fintech-to-build-sunflower-ecosystem-for-autism | %tags

हरेक बच्चाको सिकाइ फरक हुने भएकाले ‘आइईपी सनफ्लावर’ मार्फत व्यक्तिगत सिकाइ योजना तयार गरिनेछ। यसले बच्चाले के सिक्यो र अब के सिकाउनुपर्छ भन्ने स्पष्ट जानकारी शिक्षक र अभिभावकलाई दिन्छ।

त्यस्तै, अटिजम भएका बच्चालाई व्यावहारिक कुराहरू कथाको माध्यमबाट सिकाउनका लागि ‘हुबर डस्ट’ छ। बच्चाहरूलाई उनीहरूको परिवेशलाई बुझेर कथाको माध्यमबाट सिकाइनेछ।

अटिजमको यात्रामा अभिभावकहरूलाई अनुभव आदान प्रदान गर्नका लागि ‘गोल्डेन कार्पेट’ सुरु गरिएको छ। मासिक रुपमा अभिभावक, शिक्षक र डाक्टरहरू भेटेर आफ्ना अनुभव र विचार साट्ने अवधारणा सहित यो सुरु गरिएको हो।

अभिभावकलाई सही जानकारी दिन र आवश्यक सेवा कहाँ उपलब्ध छ भन्ने खोज्न ‘सनफ्लावर स्पेक्ट्रम’ नामको सूचना प्लेटफर्म पनि सञ्चालनमा छ।

यसैगरी, समाजलाई अझ समावेशी बनाउन ‘गोल्डेन सनफ्लावर रेटिङ’ को अवधारणा ल्याइएको छ। अटिजममैत्री स्कुल, अफिस, रेस्टुरेन्ट वा सार्वजनिक स्थानलाई पहिचान गरेर स्टार रेटिङ दिइनेछ।

यो मोडल काठमाडौंमा सफल भएपछि र आवश्यक जनशक्ति तयार भएपछि यसलाई देशभर विस्तार गर्ने उनको योजना छ। “हामीले प्रत्यक्ष रूपमा वार्षिक १५ सय बालबालिकालाई सेवा दिन्छौं। तर हामीले उत्पादन गरेका जनशक्तिले देशभर थप सेन्टर खोल्नेछन्, जसबाट हजारौं परिवार लाभान्वित हुनेछन्,” उनी भन्छन्।

अधिकारीले निजी क्षेत्रबाट ‘इकोसिस्टम’ बनाउने काम संगसंगै सरकारी नीति निर्माणमा पनि उत्तिकै सक्रिय छन्। नेपालको पहिलो ‘अटिजम निर्देशिका’ बनाउने कार्यदलमा उनी सहभागी थिए।

अभिभावकलाई ध्रुवको सल्लाह: बच्चालाई सक्दो समय दिनुहोस् 

ध्रुवका अनुसार, अटिजम कुनै रोग नभएर एउटा ‘अवस्था’ हो। त्यसैले यसलाई व्यवस्थापन गर्ने र बच्चालाई आत्मनिर्भर बनाउने कुरा मुख्य उद्देश्य हुनुपर्ने उनी बताउँछन्। “धेरैजसो अभिभावकहरू चमत्कारी थेरापी खोज्दै दौडीनुहुन्छ। तर सबैभन्दा ठूलो थेरापी भनेको अभिभावकले दिने समय हो”, उनले भने।  

ध्रुव एउटा उदाहरण दिँदै भन्छन्, “मैले एकजना अभिभावकलाई सोधें, तपाईं दिनभरि के गर्नुहुन्छ? उहाँले भन्नुभयो, ‘बिहान जिम जान्छु, अफिस जान्छु, बेलुका आएर बच्चासँग खेल्छु।’ मैले उहाँलाई सल्लाह दिएँ- एक घण्टा जिम जान छोड्नुस्। त्यो समय बच्चालाई लिएर मर्निङ वाक जानुस्। तीन महिना यो गर्नुस्, तपाईंको बच्चामा परिवर्तन आएन भने मलाई भन्नुस्।”

बच्चालाई घरभित्रै सीमित राख्ने बानीप्रति उनले ‘एक्सपोजर थेरापी’ को महत्त्व पनि जोड दिन्छन्। उनी प्रश्न गर्दै भन्छन्, “मलाई गाडी चलाउन आउँदैन भने किन आउँदैन? किनकि मैले सिकेको छैन।” उनी भन्छन्, “अटिजम भएका बच्चाको संसार त्यसै पनि सानो हुन्छ। यदि हामी उनीहरूलाई बाहिर नलग्ने, रेस्टुरेन्टमा नबसाल्ने वा सार्वजनिक यातायातमा नचढाउने हो भने उनीहरूले संसार कसरी बुझ्छन्? सिक्ने अवसर नै नदिएसम्म उनीहरूले कसरी सिक्ने? त्यसैले हामीले उनीहरूलाई बुझ्नु पर्छ र सकेसम्म धेरै बाहिरी संसारको अनुभव दिनु पर्छ।”

लाल्टिन बन्ने सपना

यो यात्रा सुरु हुनुअघि मानसपटलमा विभिन्न नामहरू आए पनि, अन्ततः ‘सनफ्लावर’ नै राख्नुको कारण विशेष रहेको उनी सुनाउँछन्। “सनफ्लावर फूल जस्तै घामतिर फर्किन्छ। हामी घाम हौं भन्न खोजेका त होइनौं, हामीसँग त्यस्तो शक्ति पनि छैन। तर हामी घाम बन्न नसके पनि, कसैको जीवनमा सानो लाल्टिन बनेर उज्यालो ल्याउने प्रयासमा छौं”, उनले भने। 

उनी भन्छन्, “अबको १० वर्षपछि कसैले सनफ्लावर (सूर्यमुखी) देख्दा फूल मात्रै नदेखोस, अटिजम र समावेशितालाई पनि सम्झियोस्। स्कुल वा सार्वजनिक ठाउँमा ‘अटिजम’ नौलो विषय नमानोस। यो व्यवस्थापन गर्न सकिने अवस्था हो भन्ने समाजले बुझोस्।”

आज उनी फिनटेकको लामो यात्रालाई बिट मारेर हजारौं परिवारको जीवनमा उज्यालो ल्याउने यात्रामा छन्। ‘सनफ्लावर’ अभियानले धेरै परिवारका लागि आशाको न्यानो किरण बन्ने उनको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स