प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको ? भनि अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आक्रोस समेत व्यक्त गरे। सचेतक राईले सदनको सम्पत्तिको रुपमा रहेको कुनै पनि विधेयकलाई सरकारले हेरफेर गर्न वा सच्याउने काम गर्न संवैधानिक हिसावले पनि नमिल्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने,‘करका दरमा बारम्बार हेरफेर गर्नुभयो । उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि । र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नु भएको हो कि । संसद वादविवाद गर्ने थलो हो । यसको नीति, विधि र प्रक्रिया छ । सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ ? यो अक्ष्यम्य गल्ती किन र कसको स्वार्थमा भएको हो ? मेरो प्रश्न छ । सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र ? उहाँलाई मेरो प्रश्न छ–कसको ईसारा अथवा कुन स्वार्थमा करको दर आफूखुशी परिवर्तन गरियो ? संविधानको मर्म अनुसार कुनै पनि विधेयक सदनमा पेश भईसकेपछि त्यो संसदको सम्पत्तिको रुपमा रहने संवैधानिक व्यवस्था छ सभामुख महोदय । सरकारले त्यसलाई आफूखुशी बदल्न वा सच्याउन पाउँदैन ।’
सचेतक राईले अर्थमन्त्री वाग्लेलाई कसैको इशारामा लागेर करको दर फेरबदल गर्ने छुट नरहेको पनि बताए ।
–न्युज एजेन्सी नेपाल

प्रतिकृया