जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको नाइनएन-एएनएच जहाज अगाडिको पांग्रा (नोज ह्वील) विना नै सुरक्षित रूपमा अवतरण गरेको छ।
बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि गरिएको नियमित प्राविधिक परीक्षणका क्रममा अगाडिको नोज ल्याण्डिङ गियरको एउटा पांग्रा हराएको पत्ता लागेको हो।
नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज उड्ने क्रममा कुनै असामान्य गतिविधि नदेखिएकाले पाइलट तथा उडान दललाई पनि यसबारे कुनै जानकारी थिएन। काठमाडौं अवतरणपछि मात्र प्राविधिक निरीक्षणका क्रममा पांग्रा हराएको पुष्टि भएको हो।
यसपछि जनकपुर विमानस्थलमा खोजी गर्दा उक्त पांग्रा रनवेको टर्निङ प्याडमा भेटिएको जनाइएको छ। हाल जहाजलाई ग्राउन्डिङ गरिएको छ भने घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
उक्त जहाजमा ६२ जना यात्रु सवार थिए, जसमा सबै सकुशल रहेका छन्।















प्रतिकृया