इन्जिनमा समस्या देखिएपछि भद्रपुर जाने बुद्ध एयरको विमान काठमाडौं डाइभर्ट
काठमाडौंबाट भद्रपुरका लागि उडान भरेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काइएको छ।
बुद्ध एयरका अनुसार उडान नं ९५३, कलसाइन नाइनएन-एजेएस, मा समस्या देखिएपछि विमानलाई काठमाडौं डाइभर्ट गरिएको हो। कम्पनीले दायाँ इन्जिनमा समस्या आएको जानकारी दिएको छ।
विमानले ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गर्यो। अहिले प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ। यात्रुलाई भद्रपुर पठाउन अर्को विमानको व्यवस्था भइरहेको बुद्ध एयरले जनाएको छ।
अवतरणका क्रममा केही समयका लागि त्रिभुवन विमानस्थलमा अन्य उडान रोकिएको थियो।