६ महिनामै भाटभटेनीले गर्यो १६ अर्ब ७९ करोडको कारोबार, व्यापार लगातार उकालो
नेपालको सबैभन्दा ठूलो रिटेल स्टोर भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। अघिल्लो आर्थिक वर्ष २०२४ मा कम्पनीले ३० अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको थियो, जुन सन् २०२३ को २९ अर्ब ७९ करोड रुपैयाँको तुलनामा २.७७ प्रतिशतले बढी हो। लगातार बर्सेनि बढ्दो कारोबारले कम्पनीको बजारमा पकड मजबुत बन्दै गएको देखिन्छ।
पछिल्ला पाँच वर्षमा भाटभटेनीको वार्षिक औसत कारोबार बृद्धिदर करिब ११ प्रतिशतको दरमा रहेको छ। सन् २०२० मा १६ वटा मात्र शाखा रहेकामा अहिले कम्पनीले देशभर २७ वटा आउटलेट सञ्चालन गरिरहेको छ। प्रमुख सहर तथा अर्धसहरी क्षेत्रमा नयाँ स्टोर विस्तारसँगै ग्राहकको माग बढेसँगै कम्पनीले आफ्नो व्यापारिक गति कायम राख्न सफल भएको छ। काठमाडौं, पोखरा र चितवनबाट मात्रै कम्पनीको कुल आम्दानीको झन्डै ७० प्रतिशत हिस्सा आउने गरेको छ।
उद्योगमा बढ्दो प्रतिस्पर्धाका बीच पनि कम्पनीले आफ्ना स्टोरहरू रणनीतिक स्थानमा स्थापना गरेर बजारमा अग्रता कायम राख्न सफल भएको हो। थोकमा सामान खरिद गर्ने र केही सामान सिधै आयात गर्ने प्रणालीमार्फत कम्पनीले लागत घटाउँदै मुनाफा बढाउन सफल भएको छ। यसको प्रत्यक्ष असर कम्पनीको सञ्चालन मुनाफामा देखिएको छ। सन् २०२१ मा सञ्चालन मुनाफा दर १०.५ प्रतिशत रहेकोमा सन् २०२४ मा १३.८ प्रतिशत पुगेको छ। यद्यपि,चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नयाँ स्टोर सञ्चालनका प्रारम्भिक चुनौतीका कारण यो दर केही घट्दै ११.२ प्रतिशतमा झरेको रेटिंग संस्थाले जनाएको छ।
कम्पनीको कुल ऋण भने विस्तारसँगै बढेको छ। हाल भाटभटेनीको कुल ऋण १७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ, जसमा ९ अर्ब १४ करोड दीर्घकालीन र ८ अर्ब १० करोड छोटो अवधिका लागि लिएको ऋण हो। ऋण बढेसँगै कम्पनीको गियरिङ अनुपात १.५ बाट बढेर १.९ मा पुगेको छ भने ऋण तिर्ने क्षमता जनाउने DSCR पनि १.७ बाट घटेर १.१ मा झरेको छ।
त्यस्तै, नयाँ स्टोरहरूमा थुप्रिएको स्टक र क्रेडिटर दिन घटेको कारण कम्पनीको कार्यशील पूँजी चक्रमा पनि केही दबाब देखिएको छ। यसले गर्दा बैंकको लिमिट प्रयोग बढेको र नगद प्रवाहमा सुधार गर्न आवश्यक देखिएको रेटिंगमा जनाईको छ।
सन् १९९२ मा अध्यक्ष मिनबहादुर गुरुङ र उनकी पत्नी साबित्रि घले गुरुङको लगानीमा ३५ हजार रुपैयाँबाट सानो किराना पसलको रूपमा सुरु भएको भाटभटेनी अहिले नेपालको सबैभन्दा ठूलो खुद्रा व्यवसाय बन्न पुगेको छ। दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, इलेक्ट्रोनिक्स, घरायसी सामग्रीसम्म एकै छानामुनि उपलब्ध गराउँदै आएको भाटभटेनीले अहिले पनि खुद्रा क्षेत्रमा नयाँ मापदण्ड कायम गरिरहेको छ।