बेंगलुरु पहिलो पटक आईपीएलको उपाधि जित्न सफल
सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को रोमाञ्चक फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जित्न सफल भएको छ। मंगलबार राति अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा बेंगलुरुले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनायो।
बेंगलुरुको इनिङ्समा ओपनर विराट कोहलीले ३५ बलमा ४३ रन बनाए। उनले तीन चौका प्रहार गरे। फिल साल्टले १६, कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५, मयंक अग्रवालले २४, जितेन शर्माले २४ र रोमारिओ सेपार्डले १७ रन बनाए। पञ्जाबका लागि केली जेमिसन र अर्शदीप सिंहले समान ३–३ विकेट लिए। जेमिसनले ४ ओभरमा ४८ रन दिँदा अर्शदीपले ४ ओभरमा ४० रन खर्चिए, जसमा उनले अन्तिम ओभरमा तीन विकेट झारेका थिए।
१९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो। शशांक सिंहले अन्त्यसम्म नटआउट रहँदै ३० बलमा ६१ रनको अविजित इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान २–२ विकेट लिएर जितमा योगदान गरे।
खेलपछि विराट कोहलीले जितको श्रेय टिमको सामूहिक प्रयास र फ्यानहरूको समर्थनलाई दिए। यो उपाधिसँगै बेंगलुरुले आईपीएल इतिहासमा पहिलो पटक उपाधि जितेको हो, जसले कप्तान कोहलीको लामो समयदेखिको सपना पूरा भएको छ।
आईपीएल २०२५ मा व्यक्तिगत प्रदर्शनको आधारमा गुजरातका साई सुदर्शनले ७५९ रन बनाएर सिजनको सर्वाधिक रन बनाउने खेलाडी भए भने सोही टिमका प्रसिद्ध कृष्ण २५ विकेट लिएर अग्रणी विकेट टेकर बने। मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई प्लेयर अफ द सिरिज घोषित गरिएको छ।
हालसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले पाँच–पाँच पटक आईपीएल उपाधि जितेका छन्। कोलकाता नाइट राइडर्सले तीन पटक, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र अब रोयल च्यालेन्जर्स बेंगलुरुले एक–एक पटक उपाधि जितेका छन्।