सेयर बजारमा नयाँ आइपिओप्रतिको माग सधैं उच्च रहँदै आएको छ। तर पछिल्लो समय लगानीकर्ताको संख्या बढ्दै जाँदा र बजारप्रति चासो बढेसँगै नयाँ कम्पनीको आइपिओको माग अझ तीव्र बनेको छ। नेप्से सूचकमा उतार–चढाव भइरहँदा पनि नयाँ आइपिओप्रति लगानीकर्ताको आकर्षण भने कम भएको छैन।
विशेषगरी हाल ‘जेन्जी स्टक’ भनेर चिनिने नयाँ आइपिओ सूचीकृत कम्पनीहरूको सेयर मूल्य छोटो समयमै उल्लेख्य रूपमा बढ्न थालेपछि लगानीकर्ताको आकर्षण नयाँ आइपिओतर्फ बढेको हो। सूचीकृत भएको केही दिनमै राम्रो नाफा कमाउन सकिने अपेक्षाले धेरै लगानीकर्ताहरु आइपिओ भर्न अझै उत्साहित हुँदै गएका छन्।
सेयरबजारमा हालै सूचीकृत भएका आइपिओ कम्पनीहरूको सेयर मूल्य निरन्तर पोजिटिभ सर्किट लाग्दै माथि पुगेको देखिन्छ। कतिपय कम्पनीहरुको त फन्डामेन्टल त्यति स्ट्रोङ नभए पनि बजारमा माग धेरै हुँदा सेयर मूल्य उच्च स्तर सम्म पुगेका पनि छन्।
अझ विशेष गरी पछिल्लो समय म्यानुफ्याक्चरिङ सेक्टरका कम्पनीहरुको मूल्य त सोचेको भन्दा पनि धेरै माथि पुगेका छन। भर्खरै आइपिओ ल्याएको म्यानुफ्याक्चरिङ सेक्टरका सागर डिस्टिलरी र एसवाई प्यानलको सेयर मूल्य बजारमा उच्च स्तरसम्म पुगेपछि लगानीकर्ताहरु म्यानुफ्याक्चरिङ कम्पनी तर्फ अझै आकर्षित भएका छ।
लगानीकर्ताहरूका अनुसार म्यानुफ्याक्चरिङ कम्पनीहरूले नियमित उत्पादनमार्फत नाफा आर्जन गर्ने भएकाले दीर्घकालीन रूपमा स्थिर प्रतिफल दिन सक्ने सम्भावना बढी हुन्छ। यही कारणले यस सेक्टरका कम्पनीहरुलाई सुरक्षित र भरपर्दो लगानीको रूपमा हेरिन थालेको छ।
पछिल्लो समय ब्याक टु ब्याक आइपिओ आइरहे पनि अझै लगभग ८० भन्दा बढी कम्पनीहरु सेबोनको पाइप लाइनमा अनुमति कुरिरहेका छन। त्यसमध्ये पनि अहिले आकर्षण बनेको म्यानुफ्याक्चरिङ सेक्टरमा २३ वटा कम्पनीहरु आइपिओको अनुमति कुर्दै बसेका छन्। कतिपय कम्पनीहरू त दुई वर्षअघिदेखि नै आइपिओको स्वीकृतिको प्रतीक्षामा रहेका छन र अहिलेसम्म अनुमति पाउन सकेका छैनन्। त्यस्तै, बजारको सकारात्मक माहोल र लगानीकर्ताको बढ्दो चासोलाई मध्यनजर गर्दै कतिपय कम्पनीहरूले प्रिमियम मूल्यमा आइपिओ ल्याउने तयारीमा छन्।
म्यानुफ्याक्चरिङ सेक्टरभित्रबाट पनि आइपिओ ल्याउने तयारीमा रहेका कम्पनीहरू विभिन्न क्षेत्रका छन्। यस सेक्टरमा सिमेन्ट कारखाना, स्टिल कम्पनी, केबल कम्पनी, एग्रो फार्म, पेन्टस् कम्पनि र फार्मास्युटिकल्स क्षेत्रका कम्पनीहरू पनि आइपिओ ल्याउने सूचीमा रहेका छन्।
सेबोनको पाइपलाइनमा रहेको कम्पनीहरुमा ७ वोटा सिमेन्ट कम्पनी, ४ वोटा फार्मास्युटिकल्स, ३ वोटा पेन्ट कम्पनी, ३ वोटा स्टिल कम्पनी, ३ वोटा एग्रो कम्पनी, १ वोटा केबल कम्पनी, १ वोटा पाइप उत्पादन गर्ने कम्पनी र १ वोटा डिस्टिलरी कम्पनी आइपिओको अनुमति कुर्दै बसेका छन्।
विशेषगरी सिमेन्ट, स्टिल, केबल, पेन्ट र औषधि उत्पादन गर्ने कम्पनीहरू विकास निर्माण र दैनिक उपभोगसँग जोडिएका भएकाले भविष्यमा पनि स्थिर आम्दानी गर्न सक्ने र एग्रो फार्म कम्पनीहरूले आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन बढाउँदै लगेका कारण यस क्षेत्रप्रति लगानीकर्ताको ध्यान बढ्दै गएको छ।
पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा धेरै सातवटा सिमेन्ट उद्योग छन्। जसमा जगदम्बा सिमेन्टले प्रीमियम मूल्य ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आइपिओ ल्याउन अनुमति कुरिरहेको छ। सौर्य सिमेन्टले पनि प्रीमियम मूल्य २६४.५१ रुपैयाँमा १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता आइपिओ ल्याउने अनुमति मागेको छ।त्यस्तै, मारुति सिमेन्टले भने प्रीमियम मूल्य ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता आइपिओ ल्याउने अनुमति मागेको छ। साथै, रिद्धिऋद्धि सिमेन्टले प्रीमियम मूल्य २१४.१ रुपैयाँ १ करोड २१ लाख ७१ हजार कित्ता आइपिओ निष्काशनको अनुमति मागेको हो।
त्यसैगरी भूगर्भ सिमेन्टले १२ लाख ६३ हजार कित्ता आइपिओ निष्काशनका लागी अनुमति मागेको छ भने महाशक्ति सिमेन्टले १ करोड ७८ लाख ५० हजार कित्ता आइपिओ ल्याउने अनुमति मागेको छ र शुभश्री अग्नि सिमेन्टले पनि २ करोड २ लाख १० हजार कित्ता आइपिओ ल्याउने सेबोनसँग अनुमति मागेको छ।
फार्मास्युटिकल्स कम्पनीमा, सोपन फार्मास्युटिकल्सले ४२ लाख ९० हजार कित्ता आइपिओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको छ। त्यस्तै, कान्तिपुर फार्मास्युटिकल्सले १७ लाख कित्ता आइपिओ निष्कासनको अनुमति मागेको छ। निविक्स फार्मास्युटिकल्सले १३ लाख ७५ हजार कित्ता आइपिओ ल्याउने प्रस्ताव पेस गरेको छ भने सुप्रिम हेल्थ केयरले पनि १४ लाख कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ।
स्टिल कम्पनीमा, अम्बे स्टिल्सले प्रीमियम मूल्यमा प्रतिकित्ता ३०३ रुपैयाँका दरले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता आइपिओ निष्कासनको अनुमति मागेको छ। स्टिल उत्पादन गर्ने अर्को कम्पनी हुलास इन्फ्राले पनि प्रीमियम मूल्य प्रति कित्ता ३३३.५७ रुपैयाँमा ३५ लाख ४७ हजार १८८ कित्ता आइपिओ ल्याउने अनुमति मागेको छ। त्यस्तै, गोदावरी स्टिलले भने बेस प्राइस १०० रुपैयाँमै आइपिओ ल्याउन सेबोनसँग अनुमति मागेको छ।
पेन्ट कम्पनीमा, एभरेस्ट कलर लिमिटेडले ७ लाख ९० हजार कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ। त्यस्तै, सर्वोत्तम पेन्ट्सले ८ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति मागेको हो भने जस्मिन पेन्ट्सले पनि १० लाख कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ।
त्यस्तै, एग्रो फार्म कम्पनीमा, दाउन्ने एग्रो फार्मले १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति मागेको छ भने केबी एग्रो एण्ड रिसर्च कम्पनीले १० लाख ९७ हजार २५० कित्ता र एनसी एग्रो टेकले १८ लाख ७५ हजार कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको हो।
यसैगरी म्यानुफ्याक्चरिङ सेक्टर अन्तर्गत श्री डिस्टिलरी लिमिटेडले ९ लाख ६० हजार कित्ता, लक्ष्मी टेक्नोप्लास्टले १० लाख कित्ता र सारथी केबल ले ११ लाख ४५ हजार कित्ता आइपिओ निष्कासनको अनुमति मागेका छन्।यसरी हालसम्म २३ वटा कम्पनीले कुल २८ अर्ब ६५ करोड ७५ लाख ४१ हजार ७२५ रुपैयाँ बराबरको १४ करोड ३१ लाख १८ हजार ५२७ कित्ता आइपिओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको मागेका छन्।
नेप्सेमा हालसम्म बैंक वित्तिय संस्था र हाइड्रो सेक्टरका कम्पनीहरुको वर्चस्व रहँदै आएको छ। अब बिस्तारै म्यानुफ्याक्चरिङ्ग सेक्टरका कम्पनीहरु बढ्दै गएका छन्। माथिका कम्पनीहरुको आईपिओ आएपछि अब केहि समयपनि नेपाली सेयर बजारमा म्यानुफ्याक्चरिङ्ग सेक्टरका कम्पनीहरुको वर्चस्व हुँदै जाने देखिएको छ।






















प्रतिकृया