झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो बाचा पत्र सार्वजनिक गर्दै दमक केन्द्रित विकास एजेन्डालाई प्राथमिकतामा राखेका छन्।
फागुन २१ गते हुने निर्वाचनमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा रहेका उनले ओलीको पहलमा निर्माण गरिएको दमक भ्यूटावर र सभागृहलाई उच्चतम नागरिक उपयोगीतासहित सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले संविधानको परिपालना, आवश्यक कानुन निर्माण तथा संशोधनमा सक्रिय भूमिका खेल्ने, संसदमा बेथिति र भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने तथा झापा–५ का विकास मुद्दा राष्ट्रिय नीति र बजेटमा सशक्त रूपमा उठाउने बताएका छन्। साथै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने, नेपाल सरकार र जेनजीबीच भएका सम्झौता पारदर्शी रूपमा कार्यान्वयन गराउने तथा सार्वजनिक सेवा चुस्त बनाउने उनको अडान छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने, सीपमूलक शिक्षा कार्यक्रम विस्तार गर्ने, गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन केन्द्र बनाउने, दमक बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने र विद्यालय छाड्ने दर शून्यमा झार्ने योजना उनले अघि सारेका छन्। स्वास्थ्यतर्फ दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने तथा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने प्रतिबद्धता छ।
कृषिमा कन्काई–रतुवा सिँचाइ योजना विस्तार, लिफ्ट सिँचाइ प्रविधि प्रयोग, श्रम बैंक अवधारणा लागू गर्ने, गौरादह कृषि भण्डारण केन्द्र स्थापना गर्ने तथा कृषि क्याम्पसलाई अनुसन्धान हब बनाउने योजना उल्लेख गरिएको छ। साथै रतुवा, मावा लगायत खोलामा तटबन्ध निर्माण गरी कटान–डुबान नियन्त्रण गर्ने, दमकलाई पूर्वी नेपालको आईटी हबका रूपमा विकास गर्ने, गौरीगञ्ज भन्सार व्यवस्थित गर्ने, विराट बुद्ध पार्क निर्माण सम्पन्न गर्ने र दमक गोल्डकपलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। राजनीतिलाई पेशा होइन सेवा बनाउने संकल्प दोहोर्याउँदै उनले मतदाताको विश्वासलाई परिणाममुखी काममा रूपान्तरण गर्ने बताएका छन्।



















प्रतिकृया