२५०० मेगावाट विद्युत् प्रवाहका लागि बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन बन्ने

२५०० मेगावाट विद्युत् प्रवाहका लागि बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन बन्ने
Advertisement Ads

पश्चिम नेपालमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न २ हजार ५०० मेगावाट विद्युत् प्रवाह क्षमता भएको बझाङ–बनलेक (पश्चिम सेती) ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ। आयोजना निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा अनुमति माग्दै आवेदन दिएको छ।

विद्युत् ऐन, २०४९ को दफा ४ अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक विवरणसहित अनुमति आवेदन दिइएको विभागले जनाएको छ। साथै, आयोजनासम्बन्धी आवश्यक सुझाव तथा सल्लाह दिन विभागले सार्वजनिक सूचनामार्फत सरोकारवालासँग आग्रह गरेको छ।

प्रस्तावित प्रसारण लाइन करिब ६० किलोमिटर लामो हुनेछ। यो बझाङको जयपृथ्वी नगरपालिका–१ मा निर्माण हुने चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका–१० स्थित प्रस्तावित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म विस्तार गरिनेछ।

आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी क्षमताको १६० एमभीए सबस्टेसन तथा बनलेक (पश्चिम सेती)मा ४००/१३२ केभी क्षमताको ३१५ एमभीए सबस्टेसन निर्माण गरिनेछ।

प्रसारण लाइनका लागि १४३ वटा डबल सर्किट टावर निर्माण गर्ने योजना छ। टावरको अधिकतम उचाइ ६१ मिटर हुनेछ भने टावरबीचको औसत दूरी ४०८.९९ मिटर रहनेछ। न्यूनतम दूरी १२७.७९ मिटरसम्म रहने जनाइएको छ।

आयोजना निर्माणका लागि कुल २९५.४२ हेक्टर जग्गा आवश्यक पर्नेछ। त्यसमध्ये ३०.४१ हेक्टर टावर निर्माणका लागि, २६५ हेक्टर विद्युत् मार्गको क्षेत्राधिकारका लागि तथा सबस्टेसन निर्माणका लागि २१.४१ हेक्टर जग्गा आवश्यक हुनेछ। यसमध्ये बनलेक सबस्टेसनका लागि ७ हेक्टर र चैनपुर सबस्टेसनका लागि १४.३७ हेक्टर जग्गा प्रयोग गरिनेछ। प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ।

प्रसारण लाइन निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायत वातावरणीय प्रभावलाई न्यूनतम हुने गरी काम गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स