बमको हल्लापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आकस्मिक अवतरण
भारतको एयर इन्डियाको विमानलाई बमको हल्लापछि थाइल्यान्डमा आकस्मिक अवतरण गराइएको छ। एआई ३७९ नम्बरको उक्त विमान दिल्लीबाट उडेको केहीबेरमै बम रहेको सूचना पाएपछि आपतकालीन रूपमा थाइल्यान्ड अवतरण गरिएको हो। विमानमा १५६ जना यात्रु सवार थिए। हाल विमान थाइल्यान्डमै राखेर सुरक्षा जाँच भइरहेको छ।
यसअघि आज बिहान लण्डनतर्फ उडेको एयर इन्डियाको अर्को विमान पनि उडेलगत्तै मुम्बई फर्किएको थियो। भारतको समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ५:३९ मा उडेको जहाज मुम्बईमै अवतरण गर्नुपरेको हो। एयर इन्डियाले इरान र इजरायलबीचको तनावका कारण हवाई मार्गमा परिवर्तन गर्नुपरेको र केही विमानहरू फर्काउनुपरेको जानकारी दिएको छ।
त्यस्तै, विहीबार दिउँसो अहमदावादबाट लण्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटना हुँदा २४१ जनाको ज्यान गएको थियो।