६५० किमि रेन्जसहितको ‘आयन भी’ अब नेपाली बजारमा, मूल्य कति पर्छ ?
सीजी मोटर्सले मंगलबार एक विशेष कार्यक्रममार्फत नेपाली बजारमा जीएसी ब्रान्डको आयन भी (Aion V) मोडेल सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनले यो गाडीलाई नेपाली ईभी बजारमा एक महत्वपूर्ण मोडेलको रूपमा प्रस्तुत गरिएको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणकुमार चौधरीले आयन वाई भेरियन्टको सफलताबाट प्रेरित भई आयन भी सार्वजनिक गरेको जानकारी दिंदै यो गाडीले नेपालमा विद्युतीय सवारी साधनको बजारलाई थप समृद्ध बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
आयन भी दुई भेरियन्टमा उपलब्ध छ। एलिट भेरियन्टमा ६२.७ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमता रहेको छ, जसले ५२० किलोमिटरको रेन्ज दिन्छ। यसको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ। लक्जरी भेरियन्टमा ७५.३ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमता रहेको छ, जसले ६५० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। यो भेरियन्टमा ८ पोइन्ट मसाज सिट र इनबिल्ट फ्रिजजस्ता लक्जरी सुविधाहरू छन्। दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग, र फाइभ-स्टार सुरक्षा मापदण्ड राखिएका छन्।
ग्राहकको अनुभवलाई सहज बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ। यस एपमार्फत २४ सै घण्टा रोड साइड असिस्टेन्स, चार्जिङ स्टेसनको जानकारी, र सर्भिस सेन्टरको विवरण उपलब्ध हुनेछ। कम्पनीले नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्र र २४० चार्जिङ स्टेसनमार्फत सेवा दिने जनाएको छ। ग्राहकले थापाथलीस्थित शोरुममा गई गाडीको थप जानकारी लिन र टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन्।