असोज ११ गते आएको पहिरोले क्षति पुर्याएपछि बन्द रहेको माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

असोज ११ गते आएको पहिरोले क्षति पुर्याएपछि बन्द रहेको माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

नेपालमा सञ्चालनमा रहेका सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आंशिक रूपमा विद्युत् उत्पादन पुनः सुरु गरेको छ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले संरचनाहरूमा क्षति पुर्‍याएपछि ८८ दिनसम्म बन्द रहेको केन्द्र मङ्गलबार साँझ ७:४० बजेबाट पुनः सञ्चालनमा आएको हो। नदीमा उपलब्ध पानीको बहावलाई प्रयोग गर्दै अहिले १२० मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

पहिरोका कारण असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। असोज १२ को पहिरोले बाँधस्थलनजिकका नियन्त्रण कक्ष, बालुवा थिग्राउने पोखरी (डिस्याण्डर), र भूमिगत नहरमा ठूलो क्षति पुर्‍याएको थियो। गोङ्गरदेखि लामाबगर बाँधस्थलसम्मको पहुँचमार्गसमेत ठूला ढुङ्गाहरू खसेर अवरुद्ध भएको थियो। विस्फोटक पदार्थ प्रयोग गरी ती ढुङ्गाहरू हटाएर सडक खुलाइएको थियो।

दुईमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मत सकिएपछि विद्युत् उत्पादन तय गरिएको समयभन्दा एक दिनअघि नै सुरु गरिएको हो। भत्किएका पर्खालहरू मर्मत गरी चिराहरू ग्राउटिङ गरेर सुधार गरिएको छ। बाँकी मर्मत कार्य जारी रहेको छ।

विद्युत् कम माग हुने समयमा पानी संकलन गरेर बढी माग हुने बिहान र बेलुकाको समयमा (पिक समय) केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन मर्मत कार्य पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ।

मर्मत कार्यमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतमसहितको टोलीले निरीक्षण गर्दै पुस १० सम्ममा उत्पादन सुरु गर्ने योजना बनाएको थियो। उनीहरूले तालिकाभन्दा एक दिनअगावै उत्पादन पुनः सुरु गर्न सफल भएको जानकारी दिएका छन्।

पहिरोका कारण दुईजना कर्मचारी र दुईजना सुरक्षाकर्मीको निधन तथा जोखिमयुक्त वातावरणका बावजुद मर्मत कार्य पूरा गरिएको घिसिङले बताए। केन्द्रबाट उत्पादन सुरु भएसँगै भारतबाट विद्युत् आयात सन्तुलन कायम गर्दै पिक समयमा आपूर्ति सहज हुने उनले उल्लेख गरे।

जलविद्युत् केन्द्रका संरचनाहरू बीमा गरिएको छ। पहिरोले पुर्‍याएको १ अर्ब ७८ करोड रुपैयाँ क्षतिको प्रारम्भिक बीमा दाबी गरिएको छ। बीमक राष्ट्रिय बीमा कम्पनीसँग संयुक्त मूल्याङ्कन कार्य भइरहेको छ। त्यसपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ।

सञ्चालक समितिका अध्यक्ष घिसिङका अनुसार बाँकी मर्मत कार्य आगामी वर्षायाम सुरु हुनु अघि सम्पन्न गर्न निर्माण व्यवसायी छनोटका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स