नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ। पुस ८ गते बसेको नेप्सेको निर्णयअनुसार सेयर कारोबार रोक्का गरिएको हो भने ३ कार्यदिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तले पुस ७ गते सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गर्ने निर्णय गरी पुस ८ गते कारोबार समयको मध्याह्न १२ः१३ बजे मात्रै नेप्सेको प्रणालीमार्फत सूचना पठाएको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार समयअघि पठाउनुपर्ने कानूनी व्यवस्था रहेको भए पनि संस्थाले नियम विपरीत कारोबार समयमा मात्र सूचना पठाएकोले कारबाही गरिएको नेप्सेले जनाएको छ।
आत्मनिर्भर लघुवित्तले आर्थिक वर्ष २०८०/८१ का लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेप्सेले लघुवित्तलाई ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। संस्थाले नेप्सेलाई जवाफ दिएपछि मात्र सेयर कारोबार पुनः सुचारु हुनसक्नेछ।


प्रतिकृया