२० बहुराष्ट्रिय कम्पनीले नेपालमा थप २०० अर्ब लगानी गर्ने

२० बहुराष्ट्रिय कम्पनीले नेपालमा थप २०० अर्ब लगानी गर्ने
Advertisement Ads

नेपालमा लगानी गरिरहेका २० ठूला बहुराष्ट्रिय कम्पनीले विभिन्न क्षेत्रमा थप २०० अर्ब रुपैयाँ लगानी विस्तार गर्ने तयारी अघि बढाएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कम्पनीका प्रतिनिधिबीच सोमबार भएको छलफलमा यस्तो जानकारी दिइएको हो।

छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेका उद्योग विस्तार गर्न र थप रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरे।

“नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ।”

अर्थमन्त्रीको आग्रहपछि कम्पनी प्रतिनिधिहरूले नेपालमा करिब २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै थप नीतिगत स्थिरता भए लगानी बढाउँदै लैजाने प्रतिबद्धता जनाए। जलविद्युत्, खाद्य, होटल, पेन्ट तथा पेय पदार्थलगायतका क्षेत्रमा लगानी विस्तार भइरहेको उनीहरूले जानकारी गराए।

“जलविद्युत्, खाद्य, होटेल, पेन्टजस्ता उद्योगमा हामी २०० अर्ब लगानी गर्दैछौँ,” बहुराष्ट्रिय कम्पनीका प्रमुखहरूले भने, “सरकारले अनुकूल वातावरण बनाओस्, हामी लगानी विस्तार गर्न तयार छौँ। यसले रोजगारी र अर्थतन्त्र दुवैको वृद्धिमा भूमिका खेल्नेछ।”

नयाँ सरकारले ल्याएको बजेटले लगानीकर्ताको मनोबल बढाएको उल्लेख गर्दै कम्पनी प्रतिनिधिहरूले केही नीतिगत तथा व्यावहारिक विषयमा थप सहजीकरण आवश्यक रहेको बताए। उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, कर तथा भन्सार कार्यालयको प्रशासनिक कार्यमा सुधार देखिएको भए पनि लगानी विस्तारका लागि थप सहज वातावरण आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कम्पनीहरूले माउ कम्पनीबाट नेपालमा पुँजी ल्याउन सहजीकरण, आर्थिक अपराध र फौजदारी अपराधको स्पष्ट व्याख्या तथा आयकर ऐनको दफा ५७ संशोधन गर्नुपर्ने माग राखेका छन्। श्रमिक कानुन परिमार्जन गरी लगानीमैत्री वातावरण बनाउन पनि उनीहरूले आग्रह गरेका छन्।

त्यसैगरी, कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, नेपालमै उपलब्ध कच्चा पदार्थ प्राप्तिमा सहजीकरण, मूल्य नियन्त्रण, जग्गाको हदबन्दी फुकुवा र स्थानीय तहअनुसार फरक कर निर्धारणको समस्या समाधान गर्नुपर्ने विषय उठाइएको छ।

औद्योगिक वातावरण सुधारका लागि आधारभूत सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउन, दोहोरो करको झन्झट हटाउन तथा लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रिया सहज बनाउन पनि कम्पनी प्रतिनिधिहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस्, पावर कन्स्ट्रक्सन, गोर्खा लाहारी, हुवासिन सिमेन्ट नारायणी, न्युहोप एग्रो बिजनेस, नेपाल वेलहोप एग्रीटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्टस्का नेपाल प्रमुख तथा नेपाली लगानीकर्ताहरू सहभागी थिए।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनसम्बन्धी छलफललाई निरन्तरता दिइरहेका छन्। यसअघि उनले उत्पादनमूलक उद्योग सञ्चालन गर्ने तीन दर्जन उद्योगी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग अर्थतन्त्र र बजेट कार्यान्वयनका विषयमा छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स