राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि त्यहाँका किसान चिन्तित छन् । वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताए ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा बँदेल र बाँदर आतङ्क बढेको छ । रोग, कीराको प्रकोपबाट जसोतसो बचेको बाली वन्यजन्तुले सखाप पार्ने गरेकाले समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने उनको भनाइ छ ।
निकुञ्ज क्षेत्रमा अवस्थित राप्तीसोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिमपूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायत टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारूले बताए ।
निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा क्षतिपूर्ति वितरण गरेको छ । त्यसमध्ये अन्नबाली क्षतिका दुई सय ७२ घटनामा रु १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए ।













प्रतिकृया