प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २३ गते
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे । सोही दलका सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका छन्।

सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए । उनीहरुले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने बताएका छन् ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट गरेका छन्। सांसद बुद्धिमान तामाङले मुलुकमा बाढी, पहिरा र डुबानमा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजीकार्य तीव्र पार्न ध्यानाकर्षण गराएको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स