काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच सामाजिक सञ्जालमा देखिएको जुहारी पछिल्लो समयमा नेपाली राजनीतिक बहसको विषय बनेको छ। प्रधानमन्त्री ओलीले बालेनप्रति आक्रामक हुँदै जाँदा, बालेनले पनि ओलीलाई दह्रो जवाफ फर्काएका छन्, जसले गर्दा यो टकराव झन् चर्किएको छ।
ओलीको रणनीति आफैंलाई अफ्ठ्यारो ?
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको शक्ति राम्ररी बुझेका छन्। कुनै घटना घट्नासाथ उनी तत्कालै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिन्छन्। ‘बा’ भन्ने ट्रेन्ड चलेपछि, उनले आफ्नो ७१ औं जन्मदिनको अवसरमा “केपी बा” नामक यूट्युब च्यानल सञ्चालनमा ल्याएका छन्। यहाँ उनले जीवन र दर्शनका कुरा गरेर नयाँ पुस्तासँग जोडिने प्रयास गरिरहेका छन्। तर, पछिल्लो समय बालेनसँगको टकरावले ओलीको इमेजमा भने नराम्रो असर परिरहेको छ।
प्रधानमन्त्री र नेकपा (एमाले)का अध्यक्ष ओलीले सामाजिक सञ्जाललाई जनसम्पर्कको प्रमुख माध्यमका रूपमा प्रयोग गर्न थालेका थिय। कुनै विषय चर्चामा आउँदा त्यो विषयबाट जनताको ध्यान हटाउन ओलीले सञ्जाल प्रयोग गर्थे। सामाजिक सञ्जालको शक्ति बुझेका ओलीले, बालेन शाह र हर्क साम्पाङजस्ता नेताहरूले लोकप्रियता पाएको देखेपछि आफ्ना नेताहरूलाई सामाजिक सञ्जालमा सक्रिय रहन निर्देशन दिएका थिए। अघिल्लो वर्ष जेठमा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मिशन २०८४ अनुसार पार्टीले बहुमत ल्याउनका लागि अध्यक्ष ओलीको फेसबुक पेजमा दैनिक ५० हजार लाइकको आवश्यकता रहेको बताएका थिए।
कार्यक्रममा रिमालले कार्यकर्तालाई निर्देशन दिँदै भनेका थिए, “काठमाडौंका मेयरले नचाहिने कुरा लेख्नासाथै ८०–९० हजारले लाइक गरेका देखिन्छ। धरानको बौलाहा टाइपको मेयर छ। काम त राम्रै गरेका होलान्। धरानबाहिर लोकप्रिय छन्, धरानभित्र के छ थाहा छैन। उनको पोस्टमा ४०–५० हजारले लाइक गरेको देखिन्छ एक घन्टामा। त्यसपछि स्वतन्त्र पार्टीका सभापतिले पोस्ट गरेका देख्छु। उनको पोस्टमा एक घन्टामा ३०–४० हजारले लाइक गरेको देख्छु। कहिलेकाहीँ लेख्न मन लागेन भने पनि उनीहरूबाट पनि सिकौँ। ‘सूर्यको जय होस्’ लेखिदिनुस्। सूर्यको चिह्न हालिदिनुस्। तपाईं आइडेन्टिफाई हुनुभयो। त्यति गर्नासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ।”
ओलीले ‘बा’लाई ब्रान्ड बनाएका छन्। ‘केपी बा’ नामक यूट्युब च्यानल सञ्चालनमा ल्याएर आफ्ना अनुभवहरू सार्वजनिक गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत जनतासँग नजिक रहने रणनीति अपनाउँदै ओली फेसबुक, यूट्युब, टिकटक र इन्स्टाग्राममा सक्रिय छन्, जसका फलोअर्स लाखौँमा छन्। अहिले ती फलोअर्सले ओलीको आलोचना गर्न थालेका छन्। ओलीको फेसबुक पेज बुधबार बिहानसम्म ६ लाख ६२ हजारबाट घटेर ५ लाख ९० हजारमा झरेको छ। २४ घण्टाभित्र ७२ हजारले ओलीलाई अनफलो गरेका छन्, जसले गर्दा उनको लोकप्रियता गुम्दै गएको हो कि भन्ने प्रश्न उठेको छ।
ओली-बालेन टकरावको सुरुवात
बालेनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पराजित गरेपछि, एमाले अध्यक्ष ओली बालेनप्रति नकारात्मक बनेका थिए। चुनावकै बेला केशव स्थापितले बालेन्द्रलाई ‘अन्तर्राष्ट्रिय ठग’ को संज्ञा समेत दिएका थिए।
बालेनले मेयरमा जितेपछि एमालेबाट निर्वाचित भएका काठमाडौं महानगर कार्यपालिका सदस्यहरूले बालेनलाई असहयोग गर्न थालेका थिए। अघिल्लो कार्यकालमा एमालेले काठमाडौं महानगरको नेतृत्त्व गरिरहेका बेला भएको अनियमितता र मिलेमतोमा भएका अन्य क्रियाकलाप रोक्न बालेन दृढतापूर्वक उभिएका थिए। यसै कारण पनि एमाले बालेन प्रति रुष्ठ थिए।
एमालेले आफ्नो कार्यकालमा कार्यकर्ता पोस्ने काम रोकेको कुरा मन नपराएका प्रधानमन्त्री ओलीले सुरु देखिनै बालेन विरोधी अप्रत्यक्ष अभिव्यक्ति दिँदै आएका थिए। बालेनले कारबाही गरेका व्यक्ति शरण लिन ओलीकोमा पुगेका फोटोहरू सामाजिक सञ्जालमा देखिन्थे।
ओली र बालेनको प्रत्यक्ष टकराव भने बालेनले खोला छेउका सुकुम्बासी हटाउने निर्णय गरेपछि भयो। काठमाडौं महानगर र सुकुम्बासी बीच झडप भएको थियो। बालेनले खोला छेउका सुकुम्बासी बस्ती हटाउन खोजेपछि एमाले र ओलीले सुकुम्बासीलाई उचाल्दै आएको आरोप लगाएका थिए। वैशाखमा ओलीले भूमि अधिकार तथा श्रमिक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुकुम्बासीमाथि ज्यादती नगर्न बालेन्द्रलाई चेतावनी नै दिएका थिए । ओली प्रधानमन्त्री बन्ने तयारी गरिरहेका बेला बालेनले त्यही प्रसंगलाई लिएर फेसबुकमा लेखेका थिए, “माननीय केपी ओलीज्यू, आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोलाछेउ बस्ने धेरै डुबानमा परे, खोला बस्तीमा पसेको होइन, खोलाले आफ्नो बाटो खोजेको हो। आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ? अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गरेर भोटको राजनीति यसरी नै सधैं गरिरहने हो ?”
“उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नुभयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनुभएको छ ? काठमाडौंमा लगभग २ हजार परिवार खोलाछेउमा बस्ने गरेका छन्, तपाईंले पचाउन खोज्नुभएको गिरिबन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुनसक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे! त्यो पनि दुई तिहाइ बहुमतसहित! अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु।”
सडक देखि गिरीबन्धुसम्म बालेन ओली टकराव
फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका थिए। एमाले सचिव एवं तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग जुधेका शाहले चक्रपथ सडक निर्माणको विवादमा टिप्पणी गर्दै प्रत्येक दिन फोहोर उपहार पठाउने खुला चेतावनीसमेत दिएका थिए।
यसपछि ओलीले बालेनको खुलेरै विरोध गर्न थाले त्यसबेला, ओलीले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको बताएका थिए।
उनले प्रधानमन्त्री ओलीको नामै तोकेर लेखेका थिए, “१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई २ वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनुभएछ। गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजिएको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा, त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन। यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थाल्नुभएछ। अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो।तपाईंको शक्तिले अब रिङरोड बनाउनू, बुटवल-चितवन बाटो बनाउनू, यस्ता धेरै आयोजनामा लगाउनु होला। हामी साथमा छौं। अनि, समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नुभएको हो। धन्यवाद।”
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भएपछि बालेनले ओलीलाई लक्षित गर्दै अर्को प्रहार गरे। ओली र देउवाले मुस्कुराउँदै चिया पिइरहेको फोटो राखेर बालेनले स्टाटस लेखे, “यो समय गिरिबन्धु चियाको हो, कालेकाले मिलेर खाऊँ भाले।”
बालश्रमशोषणमा मुछिएकी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कारबाही नगरिएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ओलीविरुद्ध थप प्रश्न उठाएका छन्। त्यस विषयमा बालेनले गरेको पोस्टमा एमाले नेता कार्यकर्ताले धेरै रिपोर्ट गरेर फेसबुकले उक्त पोस्ट हटाएपछि उनले थप आक्रोश व्यक्त गरेका छन्। उनले मंगलबार लेखेका छन्, “पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ।”
उनले यसअघि, प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै लेखेका थिए, “प्रधानमन्त्री खडकप्रसाद ओलीज्यू, तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनुहोला! पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला।”






![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-768x432.jpg)







![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)
प्रतिकृया