घटस्थापना अघि सबै सडक मर्मत गर्न विभागलाई आदेश

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
घटस्थापना अघि सबै सडक मर्मत गर्न विभागलाई आदेश

दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पुग्नको लागि सडक विभागअन्तर्गतका सबै सडकहरू घटस्थापना अघि नै मर्मतसम्भार गर्न निर्देशन दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधि र यातायात व्यवसायीहरूको बैठकले यस्तो निर्णय गरेको हो। यो जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले दिएका हुन्।

बैठकले बिपी राजमार्गमा निर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन र रात्री सवारी सञ्चालन नगर्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई कडाइका साथ कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। साथै, यात्राको सुरक्षा सुनिश्चित गर्न र अग्रिम टिकट बुकिङ छिटो खोल्न यातायात व्यवस्था विभागसँग छलफल गर्न भनिएको छ।

यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन गन्तव्यसम्म जाने सवारी साधनको यान्त्रिक परीक्षण गरी व्यवस्थित गर्ने र वैज्ञानिक भाडा समायोजन छठपछि लागू गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ। इन्धनको मूल्य बाहेक अन्य कारणले भाडा समायोजन आवश्यक भए त्यसलाई पनि छठपछिका लागि निर्णय गरिएको छ।

त्यस्तै, यातायात सुधार कार्यदलको प्रतिवेदनमा रहेका तत्काल गर्न सकिने विषयलाई कार्यान्वयन गर्न र यातायात व्यवस्थापनसँग सम्बन्धित अदालतका आदेश तथा फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतम तथा सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीहरूको उपस्थिति थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स