कांग्रेस एमाले गठबन्धनको सम्भावना टर्यो, वर्तमान गठबन्धन टिकाउनकै लागि फुटाईयो जसपा
जनता समाजवादी पार्टी फुटेसंगै तत्कालका लागि सत्ता समीकरण परिवर्तनको सम्भावना टरेको छ। अशोक राईको नेतृत्वमा ७ जना संघिय सांसदहरुले नयाँ पार्टी दर्ता गरेसंगै वर्तमान सत्ता समीकरण निरन्तरताको सुनिश्चितता बढेको हो।
वर्तमान गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी, जसपा र नागरिक उन्मुक्ती पार्टी छन्। नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक रुपमै वर्तमान गठबन्धनप्रति असन्तुष्टि जनाईरहेका छन्। नेपाली कांग्रेस, समाजवादी, राप्रपा, जसपा लगायतका दलहरु मिलेर नयाँ गठबन्धन बनाउने प्रयासमा माधव नेपाल रहेको चर्चा हुँदै गर्दा जसपा फुट्नुको ठूलो अर्थ रहेको देखिन्छ। अशोक राई नेतृत्वको नयाँ पार्टीले वर्तमान गठबन्धनलाई समर्थन गर्ने बताउनुले सत्ता गठबन्धन टिकाउनकै लागि जसपा फ़ुटाइएको पुष्टि भएको छ। त्यसो त जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन खोजेकाले पार्टी फुटाउनुपरेको पुष्टि गरिसकेका छन्। सरकारलाई दिईएको समर्थन फिर्ता लिँदा राजनीतिक अस्थिरता बढ्ने भएकाले पार्टी फुटाउनुको विकल्प नदेखेर यो कदम उठाएको समेत उनले बताएका छन्।
उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी र नेकपा एसले समर्थन फिर्ता लिनेबित्तिकै प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढल्ने अवस्था थियो। हाल सत्ता गठबन्धनमा रहेका १५७ सांसद मध्ये यी दुई पार्टीका २२ जना सांसद घट्ने बित्तिकै सरकार अल्पमतमा पर्थ्यो। यहि अंकगणितका कारण कांग्रेसले एमाले र माओवादी बेगरकै नयाँ सत्ता समीकरण बनाउनसक्ने खतरा त छँदै थियो माधव नेपाल र उपेन्द्र यादवको वार्गेनिङ्ग पावर समेत बढेको थियो।
अर्कातर्फ कांग्रेस र एमाले मिलेर सरकार बनाउने भन्ने बजार चर्चालाई पनि यो घटनाले निस्तेज पारिदिएको छ। एमाले अध्यक्ष ओली यहि समीकरणको निरन्तरताको पक्षमा छन् भन्ने कुरा उनी निकट पूर्व एमाले उपाध्यक्ष अशोक राईको नेतृत्वमा जसपा फुट्नुले पुष्टि गरिसकेको छ। एक त एमाले र कांग्रेसको गठबन्धनलाई भारतले नरुचाउने, अर्कातर्फ जनतामा सत्ताकै लागि एमाले जे पनि गर्छ भन्ने संदेश जाने हुँदा कम्युनिस्ट शक्तिहरुकै गठबन्धनलाई जोगाउने निर्णयमा ओली पुगेको उनी निकट स्रोत बताउँछ।