विश्वप्रसिद्ध उद्यमी एलन मस्क र अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारबीचको सम्बन्ध समयसँगै थप जटिल बन्दै गएको थिए। बाइडेन प्रशासन र विभिन्न संघीय निकायहरूसँग मस्कका १९ विवादित मुद्दाहरू थिए, जसमध्य अझै १० मुद्दाहरू चलिरहेका छन्। बाइडेन सरकारसँगको असन्तुष्टिले गर्दा मस्कले यो चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनलाई खुला समर्थन गरे। मस्कले ट्रम्पलाई समर्थन गर्न चन्दा दिने, ट्रम्पको चुनावी सभालाई सम्वोधन गर्नेदेखि, एक्स (पूर्व ट्विटर) मा ट्रम्पप्रति सकारात्मक माहोल बनाउने सम्म कुनै कसर बाँकी राखेनन्।
राष्ट्रपति पदमा ट्रम्पको जितसँगै मस्कको व्यक्तिगत सम्पत्तिमा ठुलो वृद्धि भएको छ; चुनावी परिणामपछिको एकै दिनमा मात्र उनको सम्पत्ति २० अर्ब डलरले बढेको छ। अब नयाँ सरकारसँग मस्कले पुराना मुद्दाहरूलाई कसरि अघि बढ्लान भन्ने विषयमा सबैको चासो बढेको छ।
बाइडेन सरकारसँग मस्कको १० ठूला मुद्दाहरूका विवरण:
१. टेस्लाको ‘अटोपायलट’ र ‘पूर्ण सेल्फ ड्राइभिङ’ विवाद
अमेरिकी न्याय विभाग (DOJ) र राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (NHTSA) ले टेस्लाको अटोपायलट र “पूर्ण सेल्फ ड्राइभिङ” फिचरको सुरक्षामा शंका व्यक्त गर्दै अनुसन्धान थालेका छन्। यी प्रणालीहरू मानवको निगरानीमै काम गर्नु पर्ने भनाइका बावजुद कम्पनीले ‘पूर्ण स्वायत्त’ ड्राइभिङका रूपमा बजारमा उभ्याएको छ, जसले दुर्घटना जोखिमलाई बढाउने डर नियामक निकायले राखेका छन्।
२. मस्कको व्यक्तिगत लाभसम्बन्धी अनुसन्धान
न्याय विभाग र प्रतिभूति तथा विनिमय आयोग (SEC) ले टेस्लाले मस्कका लागि व्यक्तिगत घर खरीदमा अवैध रुपमा खर्च गरेको आरोपमा अनुसन्धान थालेका छन्। टेस्लाले कम्पनीको वित्तीय साधनहरू व्यक्तिगत फाइदाका लागि प्रयोग गरिएको आरोप खेप्दै आएको छ।
३. स्पेसएक्समा शरणार्थीहरूसँगको भेदभाव
स्पेसएक्सले शरणार्थीहरूसँगलाई रोजगारी नदिएको भन्दै न्याय विभागले मुद्दा हालेको छ। स्पेसएक्सले भने, अमेरिका बाहिरका नागरिकलाई रोजगार नदिने व्यवस्थाले संविधानको उल्लंघन भएको दाबी गर्दै प्रतिवाद दर्ता गरेको छ। यो मुद्दा अहिले टेक्ससको अदालतमा छलफलमा रहेको छ।
४. टेस्लामा रंगभेदी उत्पीडनको आरोप
टेस्लामाथि कालो कामदारहरूमाथि उत्पीडन सहनु परेको आरोपमा अमेरिकी रोजगार अवसर आयोग (EEOC) ले मुद्दा चलाएको छ। क्यालिफोर्नियाको प्लान्टमा उत्पीडन भएको गम्भीर आरोपमा EEOC ले टेस्लालाई दोषारोपण गरेको छ भने कम्पनीले आरोपको कुनै ठोस आधार नभएको दाबी गरेको छ।
५. टेस्लाको युनियन सम्बन्धी संघर्ष
टेस्लाले क्यालिफोर्नियास्थित प्लान्टमा कामदारहरूको युनियन गठन गर्ने अधिकारमाथि अंकुश लगाएकोमा राष्ट्रिय श्रम सम्बन्ध बोर्ड (NLRB) सँग विवाद जारी छ। मस्कले सन् २०१८ मा युनियनमा आवद्ध कामदारले स्टक अप्सन गुमाउने भनेर ट्विट गरेपछि यसमा विवाद चर्किएको थियो। हाल अदालतले यो मुद्दा पुनः NLRB मा पठाएको छ।
६. स्पेसएक्सका कर्मचारीको फायरिङ विवाद
स्पेसएक्सले मस्कको आलोचना गर्ने आठ कर्मचारीलाई कामबाट निकालिदिएको आरोप लागेको छ। NLRB को क्षेत्रीय कार्यालयले यी कामदारलाई अन्यायपूर्ण रूपमा निकालिएको आरोपमा मुद्दा दायर गरेको छ भने स्पेसएक्सले यसलाई संविधान विरोधी ठहर गर्दै अलग मुद्दा दायर गरेको छ। आगामी नोभेम्बर १८ मा यस मुद्दामा सुनुवाइ तय गरिएको छ।
७. ट्विटर (X) खरिदमा भएको सेयर कारोबारको विवाद
SEC ले ट्विटरको सेयर खरिदको क्रममा मस्कले अवैध कारोबार गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।
८. स्टारलिंक इन्टरनेटको ग्रामीण क्षेत्रका लागि $८८६ मिलियन अनुदानको विवाद
संघीय सञ्चार आयोग (FCC) ले स्टारलिंकलाई ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्नका लागि तय गरिएको $८८६ मिलियनको अनुदानको निर्णयलाई अस्वीकार गरेको थियो। मस्कले FCC को यो निर्णयलाई अन्यायपूर्ण भनेका छन्।
९. स्पेसएक्सको प्रक्षेपण अनुमतिमा FAA सँगको विवाद
फेडरल एभिएसन एडमिनिस्ट्रेसन (FAA) ले स्पेसएक्सका दुई प्रक्षेपणहरूमा सुरक्षा मापदण्ड पालना नगरेको भन्दै $६३३,००९ को जरिवाना लगाएको छ। मस्कले FAA को निर्णयलाई ‘अत्यधिक नियमन’ भन्दै मुद्दा हालेका छन्।
१०. टेस्लामा कार्यस्थल दुर्घटनाको मुद्दा
अगस्ट महिनामा टेस्लाको अस्टिन स्थित कारखानामा एक कामदारको मृत्यु भएपछि व्यावसायिक सुरक्षा तथा स्वास्थ्य प्रशासन (OSHA) ले घटनामा अनुसन्धान सुरु गरेको छ। मृतकका परिवारले समेत टेस्लामाथि मुद्दा हालेका छन्।
श्रोत: एनबिसी

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया