अमेरिकामा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने तयारी रहेको छ। प्रधानमन्त्री ओलीको इच्छा अनुसार परराष्ट्र मन्त्रालयले यसबारेमा भारतीय पक्षसँग अनुरोध गरेको छ। परराष्ट्रका एक उच्च अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले थोरै समयका लागि भए पनि ओलीलाई भेट्नसक्ने सम्भावना रहेको जानकारी भारतीय पक्षले गराएको छ।
मोदी जम्मा दुई दिनका लागि मात्रै अमेरिकामा रहने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको भएतापनि भारतका तर्फबाट मोदीको प्रतिनिधित्व गर्दै विदेशमन्त्री एस. जयशंकरले महासभालाई सम्बोधन गर्नेछन्। राष्ट्रसंघले आयोजना गर्न लागेको दुई दिने ‘समिट अफ फ्युचर’ कार्यक्रममा भने मोदीले समेत सम्बोधन गर्ने कार्यक्रम छ। असोज ७ र ८ मा हुने सोहि कार्यक्रमका दौरान केही समयकै लागि मात्रै भए पनि मोदीसँग भेट्ने इच्छा प्रधानमन्त्री ओलीले जनाएपछि भारतीय पक्षले सकेसम्म भेटघाट गराउने जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको हो।
सो भेटवार्ताका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनेछन् भने मोदीले पनि ओलीलाई भारत भ्रमणको निम्तो दिने सम्भावना रहेको परराष्ट्रका ती अधिकारीले बजारको चिरफारलाई बताए। भारतबाट हालसम्म ओलीलाई औपचारिक रूपमा भ्रमणको निमन्त्रणा आएको छैन। निम्तो आएको खण्डमा अमेरिकाबाट फर्किने बित्तिकै ओली भारत भ्रमणमा जानसक्ने बताइएको छ।
यसअघि परराष्ट्रमन्त्री आरजु राणा भारत जाँदा भारतीय पक्षले उच्च महत्व दिएको तर प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा भ्रमणको निम्त्रणा समेत नगरेको भन्दै ओलीप्रति भारत सकारात्मक नरहेको टिप्पणी हुँदै आएको छ। विशेषगरी चुच्चे नक्सा, भगवान श्री राम अयोध्यामा नभई नेपालको चितवनमा जन्मेको अभिव्यक्ति, पटक पटक भारत विरोधी अभिव्यक्ति दिई लोकप्रियता हासिल गर्न खोज्नु जस्ता कुराहरूबाट भारत ओलीसँग चिढिएको बताइन्छ। ‘एकताका भारतको विश्वासपात्र रहेका ओली अब फेरी भारतसँग नजिक हुन चाहन्छन्, त्यसैले पछिल्लो समय आफू भारतप्रति नरम रहेको संदेश कूटनीतिक रूपमा प्रवाह गराइरहेका छन्; भारतीय पक्षले खासै वास्ता नगर्दा पनि मोदीसँग भेट्न चाहेको संदेश पठाउनु पछाडिको कारण यही हो’, परराष्ट्रका ती अधिकारीले बताए।
















प्रतिकृया