नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले नेपालको अर्थतन्त्रमा सुधारको प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.९ प्रतिशतको तुलनामा बढी हो। यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् विकास र धान उत्पादनको वृद्धिबाट हुने अपेक्षा गरिएको छ।
विश्व बैंकले २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको छ, जसमा सेवा क्षेत्रको प्रभाव प्रमुख रहनेछ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने, “नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रको अगुवाइमा आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ। यसका लागि संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ।”
प्रतिवेदनमा नेपालका सम्भावित जोखिमहरूको पनि उल्लेख गरिएको छ, जसमा भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितताहरू समावेश छन्। यसले वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा गिरावट र पुँजीगत बजेट कार्यान्वयनमा ढिलाइका कारण आर्थिक वृद्धिमा असर पार्न सक्ने सम्भावना छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने, “नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वृद्धिलाई मजबुत बनाउन प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन र चालु परियोजनाहरू समयमै सम्पन्न गर्न आवश्यकताबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको छ।”