नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालै चुडामणि चापागाईंलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएपछि अनुभबी लगानीकर्ता सुबास चन्द्र भट्टराईले सुधार र आधुनिकताको अपेक्षा व्यक्त गरेका छन्। उनले कुनै समय राजधानी केन्द्रित सेयर बजार आज गाउँगाउँ र घरघरमा पुगेको अवस्थामा नियामक निकायमा युवा नेतृत्वको प्रवेश हुनु सकारात्मक संकेत भएको बताए।
भट्टराईले हाल प्रयोगमा रहेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) ‘फेजआउट’ अवस्थामा पुगिसकेको उल्लेख गर्दै, अब यसलाई अन्तर्राष्ट्रिय स्तरको प्रणालीले प्रतिस्थापन गर्नु पर्ने बताएका छन्। उनले नयाँ सीईओको नेतृत्वमा यो काम सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै भने, “उहाँले अन्तर्राष्ट्रिय प्रणालीहरूको अध्ययन गरेर नेपालमा उपयुक्त ढंगले कार्यान्वयन गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।”
नेप्सेको स्वामित्वको मोडेलबारे पनि उनले पुनरावलोकन आवश्यक रहेको बताए। यदि नेपालमा दोस्रो स्टक एक्सचेन्ज आउँछ भने नेप्सेपनि पुनर्संरचना तर्फ जानुपर्ने विचार व्यक्त गरे। “यदि दोस्रो स्टक एक्सचेन्ज आउँछ भने, नेप्सेले आफ्नो २०–२५ प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्छ। यदि त्यो विकल्प सम्भव छैन भने कम्तीमा १०–१५ प्रतिशत अन्तर्राष्ट्रिय संस्थालाई सेयर दिन सकिने मोडेलमा जानुपर्छ।” साथै,भट्टराईले हालको टिएमएस प्रणालीमा डाटा लिक हुने सम्भावना रहेको दाबी गर्दै यसलाई तत्काल समाधान गर्नु पर्नेमा जोड दिए।
“कसैको सम्पत्ति वा किनबेचसम्बन्धी गोप्य विवरण अरू कसैलाई थाहा हुनु हुँदैन। डाटा सुरक्षालाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रणालीहरूको अध्ययन गरी कार्यान्वयन गर्नु आवश्यक छ,” उनले भने।
“२–३ लाख प्रयोगकर्तालाई लक्षित गरेर बनाइएको प्रणाली अहिले २५ लाखले प्रयोग गरिरहेका छन्। निकट भविष्यमा यो संख्या ७५ लाखसम्म पुग्न सक्छ। त्यसलाई ध्यानमा राखेर प्रणाली विकास गर्नुपर्छ,” भट्टराईले सुझाव दिए। सरकारले पनि अर्बौं राजस्व संकलन गर्ने संस्थाका लागि उपयुक्त प्रविधिमा लगानी गर्नुपर्ने भन्दै ठूलो संख्यामा नागरिकको संलग्नता भएको संस्थाले बलियो र भरपर्दो सिस्टममा लगानी गर्नु सरकारको दायित्वसमेत रहेको बताए।
ईडीआईएस प्रणालीप्रति देखिएको असहजतालाई सम्बोधन गर्दै भट्टराईले भने, “सेयर बजारमा नयाँ लगानीकर्ता आउनुभएको छ। सबै कुरा जानेर पढेर आउनुभएको हुँदैन। कहिले काँही इडीआईएस प्रणालीले पनि काम गरिरहेको हुँदैन, कहिलेकाहीं जान अन्जानमा उहाँहरूले बिर्सिनु भएको हुन्छ। यो विर्सिदा फाइन तिर्नुपर्छ। यसलाई मिनिमाइज गर्न सकिने ठाउँ छ। अक्सन मार्केट ल्याउन सकिन्छ।” उनले कारोबारपछि १० मिनेटको अक्सन मार्केट लागू गरेर इडीआईएस गर्न बिर्सिएको क्षतिलाई कम गर्न सकिने विचार व्यक्त गरे।
सेयर बजारको सुधारका लागि नेप्से, सिडिएससी, सेबोन र अर्थ मन्त्रालयबीच सहकार्य गर्नुपर्नेमा जोड दिँदै, नयाँ सीईओले ती निकायहरूसँग आवश्यक संवाद र पहल गरेर सुधारका काम अघि बढाउने विश्वास व्यक्त गरे। “उहाँले पदभार ग्रहण गर्नुभएकोमा बधाई छ। तर उहाँले देखिने काम गर्नुहुन्छ भने, त्यो दिन म अझ ठूलो बधाई दिनेछु,” भट्टराईले भने।


















प्रतिकृया