नेपालको सेयर बजार अहिले अन्योल, प्रतीक्षा र आशाको मिश्रित मनोविज्ञानमा छ। संसदमा लगभग दुईतिहाइ समर्थनसहित स्थायी सरकार बनेको, सरकारले सुशासन र डिजिटल अर्थतन्त्रको एजेन्डा अघि सारेको अवस्थामा पनि किन लगानीकर्ता र व्यवसायी समुदाय पूर्ण रूपमा विश्वस्त देखिएका छैनन् भन्ने प्रश्न अहिले बजारको केन्द्रमा छ।
बजार विश्लेषक तथा क्यापिटल मार्केट उद्यमी अस्तित्व शर्माका अनुसार अहिलेको अवस्था “वेट एन्ड वाच” को हो। उनका अनुसार समस्या सरकारको स्थायित्वमा होइन, नीतिको स्पष्टतामा छ। “व्यवसायलाई सबैभन्दा धेरै चाहिने कुरा कन्सिस्टेन्सी हो। अहिले सरकार नयाँ छ, नीतिको दिशा पूर्ण रूपमा परीक्षण भएको छैन। त्यसैले बजार पर्ख र हेरको अवस्थामा छ,” उनले भने।
उनका अनुसार लगानीकर्ता अहिले आशा र डरको बीचमा छन्। सरकारले सुशासनको कुरा गरे पनि व्यवसायी समुदायमा “पहिला सुन अनि थुन” शैलीको त्रास अझै कायम रहेको उनको टिप्पणी छ। विशेष गरी सम्पत्ति शुद्धीकरण ऐन र वित्तीय अपराधसम्बन्धी कडाइले व्यवसायी तथा ठूला लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको उनी बताउँछन्।
शर्माले अहिलेको अवस्थालाई भारतको १९९० को दशकसँग तुलना गरे। त्यतिबेला पनि नयाँ आर्थिक नीतिका कारण बजार अन्योलमा थियो। तर पछि सुधारवादी बजेटले भारतीय बजारलाई ऐतिहासिक उचाइमा पुर्याएको उदाहरण दिँदै उनले नेपालमा पनि बजेट निर्णायक बन्न सक्ने बताए।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अनुभवलाई सकारात्मक संकेतका रूपमा लिए। “उहाँले दक्षिण एसियाको अर्थतन्त्र नजिकबाट बुझ्नुभएको छ। श्रीलंकाको आर्थिक संकट व्यवस्थापनमा समेत भूमिका खेलेको व्यक्ति भएकाले नेपालको अर्थतन्त्रमा कहाँ ‘बोटलनेक’ छ भन्ने उहाँलाई थाहा छ,” उनले भने।
अस्तित्व शर्माका अनुसार नेपाली सेयर बजार अहिले पुरानो चरणबाट नयाँ चरणमा प्रवेश गरिरहेको छ। पहिले इपीएस, पीई र लाभांश हेरेर लगानी हुने गरेको बजार पछिल्ला वर्षमा “प्लेयर बेस्ड” बनेको थियो। अर्थात् कुन स्टकमा कुन समूह लागेको छ भन्ने आधारमा मूल्य बढ्ने–घट्ने अवस्था देखिएको थियो।
तर अब बजार पुनः परिपक्व बन्दै गएको उनको भनाइ छ। “अब केवल हल्लाले बजार लामो समय चल्दैन। सेक्टरियल ग्रोथ, पोलिसी सपोर्ट र एक्टिभिस्ट इन्भेस्टिङले मार्केट ड्राइभ गर्ने समय आउँदैछ,” उनले भने।
उनले तीन प्रमुख कारकले आगामी बजार निर्धारण गर्ने बताएः
सरकारको नीतिले कुन सेक्टरलाई ‘टेल विन्ड’ दिन्छ,
संस्थागत तथा एक्टिभिस्ट लगानीकर्ताको भूमिका,
र समग्र अर्थतन्त्रमा आशा तथा विश्वासको पुनर्निर्माण।
उनका अनुसार हाइड्रोपावर सेक्टर यसको उदाहरण हो। “एक समय हाइड्रोपावरलाई सबैभन्दा कमजोर सेक्टर मानिन्थ्यो। तर नीतिगत सपोर्टपछि आज त्यही सेक्टर बजारको केन्द्रमा छ,” उनले भने।
पछिल्ला ५–६ वर्षमा सबैभन्दा धेरै निराशा बैंकिङ क्षेत्रका लगानीकर्ताले भोगेको शर्माको विश्लेषण छ। एक समय हजारौं रुपैयाँमा कारोबार भएका कमर्सियल बैंकका सेयर अहिले निकै तल झरेका छन्।
यसको कारण उनले अर्थतन्त्रको सुस्तता, बढ्दो एनपीए र बैंकिङ क्षेत्रमा देखिएको ‘हेड विन्ड’लाई माने। “यो लगानीकर्ताको मात्र दोष होइन, बैंकको पनि होइन। अर्थतन्त्रले सपोर्ट नगर्दा बैंकले चाहेर पनि राम्रो प्रदर्शन गर्न सकेका छैनन्,” उनले भने।
तर अर्थतन्त्र चलायमान बनेपछि बैंकिङ सेक्टर पुनः सुधार हुन सक्ने उनको विश्वास छ।
शर्माका अनुसार अबको बजेटले लगानीकर्ता, व्यवसायी र मध्यम वर्गलाई कति आशा दिन सक्छ भन्ने नै सबैभन्दा महत्वपूर्ण हुनेछ।
उनले करको दायरा विस्तार, व्यक्तिगत कर छुटको सीमा बढाउने, स्टार्टअपलाई कर छुट दिने, उत्पादनमुखी उद्योगलाई राहत दिने तथा पूर्वाधार क्षेत्रमा निजी क्षेत्रलाई साझेदार बनाउने नीति आउन सक्ने अपेक्षा व्यक्त गरे।
“सरकारले यदि मध्यम वर्गको क्रयशक्ति बढाउने नीति ल्यायो भने त्यसले उपभोग बढाउँछ। उपभोग बढेपछि कम्पनीको आम्दानी बढ्छ, र अन्ततः त्यसले सेयर बजारलाई नै माथि लैजान्छ,” उनले भने।
शर्माले नेपाली बजार पूर्ण रूपमा ध्वस्त हुने सम्भावना भने कम रहेको बताए। उनका अनुसार अहिले बजारमा प्रोफेसनल फन्ड म्यानेजर, संस्थागत लगानीकर्ता र शिक्षित नयाँ पुस्ताको प्रवेश भइसकेको छ।
“अब पुरानो जस्तो लगातारको बियर मार्केट सम्भावना कम छ। कुनै न कुनै सेक्टर चलिरहन्छ,” उनले भने।
उनले नयाँ लगानीकर्तालाई अध्ययन, स्किल र दीर्घकालीन सोचमा केन्द्रित हुन सुझाव दिए। “अब केवल हल्लाले करोडपति बन्ने समय सकिँदैछ। सिक्ने, बुझ्ने र व्यवस्थित रूपमा लगानी गर्नेहरू नै टिक्नेछन्,” उनले बताए।

प्रतिकृया