चिरफार प्रिमियम पोडकास्टमा यसपटक नेपालका अनुभवी बीमा व्यवसायी तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीसँग विस्तृत कुराकानी गरिएको छ। गरिमा क्यापिटलद्वारा प्रस्तुत पोडकास्टमा गैरजीवन (नन–लाइफ) बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना र आगामी रणनीतिबारे छलफल गरिएको हो।
तीन दशकभन्दा बढी समयदेखि बीमा क्षेत्रमा सक्रिय क्षेत्री नेपाल बीमक संघका निवर्तमान अध्यक्षसमेत हुन्। साथै उनी अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (ICC) अन्तर्गत बीमा क्षेत्रका भाइस प्रेसिडेन्ट, नेपाल–श्रीलंका चेम्बर अफ कमर्सका भाइस प्रेसिडेन्ट तथा एसियन इन्स्योरेन्स एन्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिजका ट्रष्टी सदस्य पनि हुन्।
पोडकास्टमा क्षेत्रीले नेपालमा बीमाको पहुँच अझै न्यून रहेको बताउँदै जनचेतना अभाव र सरकारी नीतिको कमजोर कार्यान्वयन मुख्य चुनौती रहेको उल्लेख गरे। उनका अनुसार हाल गैरजीवन बीमा कम्पनीहरूले तेस्रो त्रैमाससम्म करिब ४२ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् भने व्यवसाय वार्षिक रूपमा करिब १५ प्रतिशतले बढिरहेको छ।
कुराकानीका क्रममा उनले २०७२ सालको विनाशकारी भूकम्प, विभिन्न बाढी–पहिरो तथा हालैको जेनजी आन्दोलनका कारण भएको क्षतिको अनुभव पनि साझा गरे। उनका अनुसार जेनजी आन्दोलनबाट बीमा उद्योगमा करिब २३ अर्ब रुपैयाँ बराबरको दाबी परेको भए पनि अन्तिम भुक्तानी १४–१५ अर्ब रुपैयाँ हाराहारीमा सीमित हुन सक्ने अनुमान गरिएको छ। यसमध्ये ठूलो हिस्सा रिइन्स्योरेन्स कम्पनीमार्फत व्यवस्थापन हुने उनले बताए।
क्षेत्रीले बीमा कम्पनीहरूको प्रतिशेयर आम्दानी (EPS) घट्नुमा जेनजी आन्दोलनबाट परेको दाबी मात्र नभई ब्याजदरमा आएको गिरावट, रिइन्स्योरेन्सको बढ्दो लागत तथा प्राकृतिक विपद्का कारण बढेको दाबी रकम जिम्मेवार रहेको बताए। विगतमा १०–१२ प्रतिशतसम्म प्रतिफल दिने बैंक निक्षेप अहिले ३–४ प्रतिशतमा सीमित हुँदा बीमा कम्पनीहरूको लगानी आम्दानीमा ठूलो असर परेको उनको भनाइ थियो।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सवारी साधनको थर्ड पार्टी बीमा र शहरी क्षेत्रमा भवन निर्माण गर्दा बीमा अनिवार्य गर्ने विषयलाई सकारात्मक कदमका रूपमा उनले व्याख्या गरे। उनका अनुसार नेपालमा करिब ६२ लाख सवारी साधन दर्ता भए पनि करिब १४ लाख मात्रै बीमाको दायरामा छन्। यदि थर्ड पार्टी बीमालाई कडाइका साथ कार्यान्वयन गरिएमा मात्रै वार्षिक १२–१३ अर्ब रुपैयाँ बराबरको अतिरिक्त प्रिमियम संकलन हुन सक्ने उनले बताए।
क्षेत्रीले भवन बीमाको दायरा विस्तार गर्न सके आगामी केही वर्षमै गैरजीवन बीमा व्यवसाय दोब्बर हुन सक्ने दाबी गरे। उनका अनुसार हाल धेरैजसो मानिसले बैंकबाट कर्जा लिँदा मात्रै घरको बीमा गरिरहेका छन् भने स्वेच्छाले घर बीमा गर्नेको संख्या निकै कम छ।
कृषि बीमाबारे बोल्दै उनले परम्परागत बीमाबाट बाहिर निस्केर ‘प्यारामेट्रिक इन्स्योरेन्स’ जस्ता नयाँ अवधारणामा काम भइरहेको जानकारी दिए। तापक्रम, वर्षा वा अन्य प्राकृतिक सूचकका आधारमा किसानलाई क्षतिपूर्ति दिने प्रणाली नेपालमा परीक्षणका रूपमा लागू भइरहेको उनले बताए। यसले किसानलाई छिटो र झन्झटरहित सेवा दिन मद्दत गर्ने उनको विश्वास छ।
साइबर सुरक्षाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नेपालमा साइबर इन्स्योरेन्सको आवश्यकता पनि बढ्दै गएको क्षेत्रीले बताए। बैंक तथा वित्तीय संस्थाहरू डिजिटल हुँदै जाँदा साइबर आक्रमणबाट हुने क्षतिको सुरक्षा गर्न नयाँ प्रकारका बीमा उत्पादन आवश्यक हुने उनको भनाइ थियो।
अन्तर्वार्ताको निष्कर्षमा क्षेत्रीले नेपालमा बीमा उद्योगको सम्भावना अत्यन्त ठूलो रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्यबाट मात्रै बीमाको पहुँच विस्तार गर्न सकिने बताए। उनले उचित नीति र प्रभावकारी कार्यान्वयन भए आगामी पाँच वर्षभित्र गैरजीवन बीमा व्यवसाय दोब्बरभन्दा बढी विस्तार हुन सक्ने विश्वास व्यक्त गरे।

प्रतिकृया