आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। केही समय अघिसम्म निर्वाचन नै नहुने दाबी गर्ने राजनीतिक वृत्त अहिले भने कुन दलले कति सिट ल्याउँछ भन्ने आकलन र विश्लेषणमा व्यस्त देखिन्छ। यही सन्दर्भमा चुनावपछि सेयर बजार कस्तो रहला भन्ने विषय लगानीकर्तामाझ चासोको केन्द्रमा छ।
चुनावअघि अब दुई दिन मात्र सेयर कारोबार खुल्नेछ। आज १६ गते शनिबार बजार बन्द रहनेछ भने १७ गते आइतबार खुल्नेछ। १८ गते होलीको सार्वजनिक बिदाका कारण बजार बन्द हुनेछ र १९ गते चुनावअघि अन्तिम दिनका रूपमा कारोबार हुनेछ। सरकारले मतदानका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गरिसकेकाले अब प्रत्यक्ष रूपमा सेयर बजार २५ गते मात्र खुल्नेछ। त्यतिन्जेल अधिकांश निर्वाचन क्षेत्रका प्रारम्भिक वा अन्तिम मत परिणाम सार्वजनिक भइसकेका हुनेछन्, जसले बजारको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिन्छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको नतिजा हेर्दा नेपाली कांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो। नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी मत पाए पनि कुल ७८ सिटमा सीमित भयो। माओवादी केन्द्र ३२ सिटसहित तेस्रो स्थानमा थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेर राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाएको थियो। त्यतिबेला समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएर सात दल मात्र राष्ट्रिय दल बनेका थिए।
निर्वाचनपछि भने देशले राजनीतिक अस्थिरताको सामना गर्यो। २०७९ पुस २६ मा पुष्प कमल दाहाल नेतृत्वमा एमाले–माओवादी–रास्वपा–राप्रपा गठबन्धनको सरकार बनेको थियो, जुन करिब दुई महिनामै ढल्यो। त्यसपछि कांग्रेस–माओवादी गठबन्धनको सरकार बनेर करिब ११ महिना चल्यो। पुनः एमाले–माओवादी समीकरण बने पनि दीर्घकालीन स्थिरता कायम हुन सकेन। अन्ततः एमाले–कांग्रेस मिलेर सरकार गठन भयो र केपी शर्मा ओली प्रधानमन्त्री बने। तर निरन्तर सरकार परिवर्तनले नीतिगत स्थिरता कायम हुन नसक्दा अर्थतन्त्र र सेयर बजार दुवै प्रभावित भए।
विश्लेषकहरूका अनुसार सरकार बन्न कम्तीमा १३८ सिट आवश्यक पर्छ। संसदीय अभ्यासअनुसार पहिलो दलले सरकार बनाउने र दोस्रो दल प्रतिपक्षमा बस्ने परम्परा भए पनि नेपालमा बहुमत नपुग्दा गठबन्धन अपरिहार्य बन्दै आएको छ। यदि कुनै दलले १०० भन्दा बढी सिट ल्याएर स्पष्ट अग्रता हासिल गर्न सके स्थिर सरकार बन्ने सम्भावना बढ्ने र त्यसले लगानीकर्तामा विश्वास पैदा गर्ने अपेक्षा गरिएको छ।
हालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस बीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यी दुवै दलले पूँजी बजारप्रति सकारात्मक धारणा व्यक्त गर्दै आएका छन्। विशेषगरी पूँजीगत लाभकरसम्बन्धी अन्योल हटाई अन्तिम करको रूपमा स्पष्ट व्यवस्था गर्नुपर्ने माग लगानीकर्ताबाट उठ्दै आएको छ। अघिल्लो कार्यकालमा अर्थमन्त्री प्रकाशशरण महतले आयकर दर ३९ प्रतिशतसम्म लैजाने प्रस्ताव ल्याउँदा बजारमा तीव्र प्रतिक्रिया देखिएको थियो। त्यसपछि कर नीतिमा स्पष्टता र स्थायित्वको माग अझ बलियो बनेको छ।
इतिहास हेर्दा निर्वाचनको समय बजार बुलिस चरणमा भए परिणामपछि पनि सोही लय कायम रहने प्रवृत्ति देखिएको छ भने बेरिस चरणमा रहेको बजार चुनावपछि पनि दबाबमै रहने गरेको छ। हाल बजार स्पष्ट रूपमा बुलिस ट्रेन्डमा रहेकाले स्थिर र लगानीमैत्री सरकार गठन भए सकारात्मक ऊर्जा थपिन सक्ने विश्लेषकहरूको भनाइ छ।
समग्रमा, लगानीकर्ता अहिले चुनावी परिणामतर्फ आशावादी नजरले हेरिरहेका छन्। स्थिर सरकार, नीतिगत स्पष्टता र अर्थतन्त्रलाई प्राथमिकतामा राख्ने नेतृत्व आए सेयर बजारले त्यसलाई स्वागत गर्ने विश्वास व्यक्त गरिएको छ। अब सबैको ध्यान निर्वाचन परिणाम र त्यसपछि बन्ने सत्ता समीकरणतर्फ केन्द्रित भएको छ।

![bizshort | यस निर्वाचनमा लगानीकर्ताहरूले के खोजिरहेका छन् ?[भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-investors-are-looking-for-in-this-election Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | यस निर्वाचनमा लगानीकर्ताहरूले के खोजिरहेका छन् ?[भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-investors-are-looking-for-in-this-election Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | यस निर्वाचनमा लगानीकर्ताहरूले के खोजिरहेका छन् ?[भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-investors-are-looking-for-in-this-election Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)














प्रतिकृया