संस्थागत लगानीकर्ता यतिबेला के गर्दैछन् ? [भिडियो]

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १८ गते

नेपालको सेयर बजारमा चुनावी माहोलका कारण सकारात्मक अपेक्षा देखिन थालेको छ। ‘बजारको चिरफार’को अन्तर्वार्तामा ब्लुचिप सेक्युरिटिज (ब्रोकर नम्बर ८८) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनीले हाल लगानीकर्तामा राजनीतिक स्थायित्व आउने आशा बढेकाले बजारमा सकारात्मक सेन्टिमेन्ट निर्माण भएको बताएका छन्। उनका अनुसार प्रारम्भमा अन्तर्राष्ट्रिय नकारात्मक घटनाक्रमका कारण बजारमा केही दबाब देखिए पनि बाइङ प्रेसर बढेसँगै बजार पुनः सुधारिएको छ। विशेषगरी आगामी निर्वाचनपछि स्थिर सरकार बन्ने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको उनको भनाइ छ।

पंगेनीका अनुसार बैंक तथा बीमा कम्पनीहरूमा अहिले पर्याप्त तरलता रहेको छ। राजनीतिक स्पष्टता आएमा संस्थागत लगानी क्यापिटल मार्केटतर्फ अझै बढ्ने सम्भावना रहेको उनले उल्लेख गरे। “अहिले बैंकहरूमा पैसा छ तर लगानीका आकर्षक क्षेत्र सीमित छन्। यस्तो अवस्थामा स्थायित्व आएमा ठूलो रकम सेयर बजारमा आउन सक्छ,” उनले भने। संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले बजारलाई दीर्घकालीन रूपमा मजबुत बनाउने उनको विश्वास छ।

मध्यपूर्वमा विकसित भइरहेको द्वन्द्वले नेपालको अर्थतन्त्रमा अप्रत्यक्ष असर पार्न सक्ने विश्लेषण पनि उनले गरे। तेलको मूल्य बढेमा आयात खर्च बढ्ने र रेमिटेन्स प्रभावित हुने जोखिम रहेको उनको भनाइ छ। तथापि, विश्व शक्तिहरूको सक्रिय भूमिकाले द्वन्द्व लामो समय नलम्बिने अपेक्षा गरिएको उनले बताए। हालसम्म भने चुनावी सकारात्मकताले अन्तर्राष्ट्रिय नकारात्मक खबरलाई छायामा पारेको उनको धारणा छ।

साना लगानीकर्तालाई सुझाव दिँदै पंगेनीले भावनामा बगेर निर्णय नगर्न आग्रह गरे। राम्रो वित्तीय अवस्था भएका कम्पनी छनोट गर्न, लगानी विविधीकरण गर्न र दीर्घकालीन सोचका साथ बजारमा प्रवेश गर्नुपर्ने उनले सुझाए। सानो आम्दानी भएका व्यक्तिहरूले पनि थोरै रकमबाट सुरुवात गर्न सक्ने भन्दै उनले आईपीओ, म्युचुअल फन्ड र डिबेन्चरजस्ता साधन प्रयोग गर्न सकिने बताए। “डिसिप्लिन र अध्ययन गर्ने लगानीकर्ताले मात्र दीर्घकालीन रूपमा कमाउन सक्छन्,” उनले भने।

उनले निकट भविष्यमा इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङजस्ता नयाँ उपकरणहरू लागू भएमा बजार अझै गतिशील र पारदर्शी बन्ने विश्वास व्यक्त गरे। प्रविधिगत पूर्वाधार तयार भइसकेकाले आगामी केही वर्षमै नेपालको सेयर बजार थप आधुनिक र प्रतिस्पर्धी बन्ने सम्भावना रहेको उनको निष्कर्ष छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स