अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्दा उम्मेदवारको विगतका गतिविधि, सम्बन्ध र पृष्ठभूमि केलाएर अध्यक्ष नियुक्त गर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नियामक निकायको नेतृत्वका लागि सही व्यक्ति छनोट गर्न सरकार गम्भीर रहेको बताए ।
उनले सेबोन अध्यक्षका लागि व्यक्ति छनोट भइसकेको भए पनि नियुक्तिअघि थप अध्ययन भइरहेको जानकारी दिए ।
“हामीले धितोपत्र बोर्डको अध्यक्षका लागि मानिस चुनिसकेका छौं । तर, त्यसका लागि पनि उसलाई राम्रोसँग हेरेर, अध्ययन गरेर १० पुस्ते सम्बन्धहरु केलाएर, विगतका गतिविधिहरु हेरेर नियुक्ति गर्नेमा लागिरहेका छौं,” वाग्लेले भने ।
उनले नियामक निकायमा क्षेत्र बुझेको, नियामकीय अनुभव भएको र स्वच्छ छवि भएको व्यक्तिलाई नेतृत्वमा ल्याउने बताए ।
“जे होस् हामी सही मानिस ल्याउने छौं । बीमा प्राधिकरणको हकमा पनि त्यही हुनेछ,” उनले भने ।

प्रतिकृया