इतिहासकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य ३८ प्रतिशतले घट्न सक्ने अमेरिकी विश्लेषकको चेतावनी
पछिल्ला महिनाहरूमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा हाल सुनको दर प्रतिऔंस ३,०८० अमेरिकी डलरसम्म पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। तर यो दर दीर्घकालसम्म टिक्न नसक्ने चेतावनी Morningstar का वरिष्ठ विश्लेषक जोन मिल्सले दिएका छन्।
अमेरिकी आर्थिक पत्रिका बिजनेस इन्साईडरसँग कुरा गर्दै उनले आगामी पाँच वर्षमा सुनको मूल्य घटेर प्रतिऔंस करिब १,८२० डलरसम्म आउन सक्ने बताएका छन्, जुन अहिलेको तुलनामा झण्डै ३८ प्रतिशतको गिरावट हो।
बिजनेस इन्साईडरमा प्रकाशित समाचार अनुसार, उनले मूल्य घट्नसक्ने मुख्य तीन कारणहरू उल्लेख गरेका छन्—बजारमा आपूर्ति बढ्दै जानु, मागमा सम्भावित गिरावट आउनु, र मूल्य अत्यधिक चुलिएको संकेत देखिनु।
उनका अनुसार पछिल्लो समयमा बढिरहेको सुनको मुल्यले सुन उत्पादनलाई निकै आकर्षक बनाएको थियो। नाफा धेरै आउने भएकाले संसारभर नयाँ खानी खोल्ने होड चलेको छ।
वर्ल्ड गोल्ड काउन्सिलको तथ्यांकअनुसार, २०२४ को दोस्रो त्रैमासिकमा सुन उत्पादकहरूको औसत नाफा प्रतिऔंस ९५० डलर पुगेको थियो, जुन सन् २०१२ यताकै उच्च हो। नाफा बढेसँगै खानी सञ्चालनमा आकर्षण बढेको र पुनःप्रयोग हुने सुनको परिमाण समेत उच्च हुँदै गएको उनले बताएका छन्।
अष्ट्रेलियाको सन्दर्भ दिँदै उनले भनेका छन्, “आजकाल मानिसहरू मात्रै होइन, उनीहरूको कुकुरले पनि सुन खानी खोल्न थालेका छन्।”
मागतर्फ हेर्दा, २०२४ मा विश्वका केन्द्रीय बैंकहरूले १,०४५ टन सुन खरिद गरिसकेका छन् भने फेब्रुअरी महिनामा सुनमा आधारित ETF हरूमा ९.४ अर्ब डलर बराबरको लगानी प्रवाह भएको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ। सोहि संस्थाको सर्वेक्षणमा सहभागी भएका ७१ प्रतिशत केन्द्रीय बैंकहरूले निकट भविष्यमा सुनको सञ्चिति नबढाउने संकेत दिएका छन्।
मिल्सले यस्तो प्रवृत्तिले दीर्घकालीन मागमा प्रश्न उठाएको तर्क गरेका छन्। उनले कोभिड महामारीको समयमा सुनको मूल्य एक्कासी उचालिएपछि केही महिनामै घटेको उदाहरण प्रस्तुत गरेका छन्।
मिल्सले बजारमा देखिएको हालको गतिविधिलाई पनि सतर्कताका संकेतका रूपमा लिएका छन्। सुन उद्योगमा भएको मर्जर एन्ड एक्विजिसनको तीव्र वृद्धि, र सुनमा आधारित लगानी कोषहरूको चाप: यी सबैले बजार अब शिखरतर्फ पुगिसकेको संकेत गर्ने बताएका छन्।
S&P Global Market Intelligence का अनुसार, २०२४ मा सुन सम्बन्धी मर्जर र एक्विजिसन गतिविधि ३२ प्रतिशतले वृद्धि भएको छ। उनले बजारमा धेरै कोषहरू आउनु र कम्पनीहरूले हर्षोल्लासका साथ ठूला डिलहरू गर्नु बजारको शिखर भएको उनको भनाइ छ । “आज सुनमा देखिएको उत्साह, मूल्य वृद्धिका पछाडि रहेका धेरै कारणहरू दीर्घकालसम्म कायम रहन सक्ने छैनन्,” मिल्सले भने, “अहिलेको मूल्यलाई स्थायी मानेर लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ।”
यता Bank of America ले लगानीको बहाव बढिरहेमा आगामी दुई वर्षभित्र सुनको मूल्य ३,५०० डलरसम्म पुग्न सक्ने पूर्वानुमान गरेको छ। त्यस्तै, Goldman Sachs ले यो वर्षको अन्त्यसम्म सुन ३,३०० डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ।