नेकपा (एमाले) ले मंगलबार अपराह्न ४ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ।
सचिव भीष्म अधिकारीका अनुसार बैठकमा हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमाथि समीक्षा हुनेछ।
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमालेले अपेक्षित सफलता हात पार्न सकेन। कुल ४४ स्थानमा निर्वाचन हुँदा एमालेले ८ स्थानमा मात्रै जित्न सफल भएको थियो, जसमा १ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष, र ५ वडाध्यक्ष समावेश छन्।
यसअघि जितेका ७ स्थानको पुनः निर्वाचन भए पनि तीमध्ये कुनै स्थान जोगाउन नसक्नुले पार्टीभित्र असन्तोषको विषय बनेको छ। पार्टीले प्रारम्भिक विश्लेषणका क्रममा उपनिर्वाचनमा खराब नतिजाको कारण रूपमा प्रधानमन्त्री ओलीको नाम जोडेर फैलाइएको कम्बोडियाको टेलिकम लगानीको अफवाह र व्यवसायी मीनबहादुर गुरूङबाट पार्टी कार्यालय निर्माणका लागि दान लिएको विषयलाई नकारात्मक तवरले प्रचार गरिएकामा दोष देखाएको छ।
त्यसैगरी, बैठकमा प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीन भ्रमणको समीक्षा पनि हुनेछ। भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फेमवर्कमा हस्ताक्षर हुनु र चिनियाँ सहयोगका लागि नयाँ परियोजनामा सहमति हुनुलाई एमालेले महत्वपूर्ण उपलब्धीका रूपमा चित्रण गरेको छ। सचिवालय बैठकले यी विषयमाथि गहन समीक्षा गर्दै आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
















प्रतिकृया