नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरूलाई ७ दिनभित्र, अर्थात् वैशाख २१ गतेसम्म आफ्नो व्यक्तिगत विवरण (CV) र स्वघोषणा फारम बुझाउन आग्रह गरेको थियो।
समितिको सचिवालय अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौंमा रहेको छ, जहाँ आवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ। अध्यक्ष नियुक्तिका लागि CV र स्वघोषणा फारम माग गरेको छ।
हालका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्ड नेतृत्वविहीन बनेको हो। नियुक्त हुने नयाँ अध्यक्षले श्रेष्ठको बाँकी कार्यकालका लागि मात्र पद सम्हाल्नेछन्।
अध्यक्ष पदका लागि आवश्यक योग्यता सम्बन्धमा प्रचलित कानुनी प्रावधान अनुसार वित्त, अर्थशास्त्र, बैंकिङ, पूँजी बजार, बीमा वा सम्बन्धित क्षेत्रमा उच्च शैक्षिक योग्यता र पर्याप्त कार्यअनुभव भएको व्यक्ति योग्य मानिन्छ। साथै, सार्वजनिक संस्थान वा वित्तीय क्षेत्रको नीति निर्माण तथा व्यवस्थापनमा अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने व्यवस्था रहेको छ।


प्रतिकृया