वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरेको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि भने आज आवेदन दिने अन्तिम दिन हो।

कम्पनीले मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको हो। सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका आयोजना प्रभावित सम्पूर्ण स्थानीय बासिन्दाहरूका लागि सुरक्षित गरिएको छ। त्यस्तै, जारी पूँजीको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बन्द हुने जनाइएको छ। उनीहरूले सूर्यकुण्ड हाईड्रोको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा तथा काठमाडौं थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ निष्काशन सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स