तिर्थयात्रा सहज बनाउन भारतले ४८ अर्बमा केदारनाथ पुग्ने केबलकार बनाउने, ९ घण्टाको यात्रा ३६ मिनेटमै हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २३ गते
तिर्थयात्रा सहज बनाउन भारतले ४८ अर्बमा केदारनाथ पुग्ने केबलकार बनाउने, ९ घण्टाको यात्रा ३६ मिनेटमै हुने

भारत सरकारले केदारनाथ पुग्ने तिर्थयात्रालाई सहज बनाउन ४८ अर्ब भारतीय रुपैयाँ (६४ अर्ब नेपाली रुपैयाँ) लागतमा केबलकार निर्माण गर्ने भएको छ। बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले १२.९ किलोमिटर लामो केदारनाथ रोपवे परियोजना स्वीकृत गरेको हो।

सोनप्रयागलाई केदारनाथसँग जोड्ने यो रोपवे सार्वजनिक-निजी साझेदारी मोडअन्तर्गत ‘डिजाइन, निर्माण, वित्त, सञ्चालन र हस्तान्तरण (DBFOT)’ मोडलमा विकास गरिनेछ। हाल गौरीकुण्डबाट केदारनाथ पुग्न १६ किलोमिटरको पैदल यात्रा गर्नुपर्ने वा घोडा तथा डोली प्रयोग गर्नुपर्ने हुन्छ, जसमा ८–९ घण्टा लाग्छ। रोपवे सञ्चालनमा आएपछि भने यो यात्रा केवल ३६ मिनेटमै पूरा गर्न सकिनेछ।

यस रोपवे परियोजनामा ‘ट्राइ-केबल डिटेचेबल गन्डोला (३एस)’ प्रविधि प्रयोग गरिनेछ, जसले प्रतिघण्टा ३,६०० यात्रु ओसारपसार गर्न सक्नेछ। दैनिक करिब १८ हजार तीर्थयात्रीले यसबाट लाभ लिन सक्नेछन्।

भारत सरकारले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजनाअन्तर्गत केदारनाथ रोपवे परियोजनालाई अघि बढाएको हो। चारधाम क्षेत्रका अन्य तीर्थस्थलहरूमा पनि यस्ता परियोजनाहरूको काम भइरहेको छ।

यस्तै, हेमकुण्ड साहिब रोपवे परियोजना पनि स्वीकृत गरिएको छ, जसको लागत २,७३० करोड भारतीय रुपैयाँ रहेको छ। १२.४ किलोमिटर लामो यो रोपवेले गोविन्दघाटलाई हेमकुण्ड साहिबसँग जोड्नेछ। हाल १२ घण्टा लाग्ने यात्रा रोपवे सञ्चालन भएपछि मात्र ४५ मिनेटमा पूरा गर्न सकिनेछ।

यी परियोजनाहरूले धार्मिक यात्रालाई सहज, सुरक्षित र पहुँचयोग्य बनाउने लक्ष्य लिएका छन्, विशेष गरी जेष्ठ नागरिक र शारीरिक रूपमा अशक्त यात्रुहरूका लागि। साथै, यसले क्षेत्रीय अर्थतन्त्रलाई गति दिने मात्र नभई स्थानीय समुदायका लागि रोजगारीका अवसर पनि सिर्जना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स